एएफसी यू–१९ च्याम्पियनसीपमा इरानसँग फराकिलो गोल अन्तरले नेपालको हार

छनोट अन्तर्गत समूहको दोस्रो खेलमा इरानसँग ४–० गोलको फराकिलो अन्तरले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ

जनसम्मत
कार्तिक २५, २०७६, सोमबार

पोखरा । नेपाल इरानमा जारी एएफसी यू–१९ च्यापिम्पयनसीप छनोट प्रतियोगिताबाट बाहिरिएको छ ।

छनोट अन्तर्गत समूहको दोस्रो खेलमा इरानसँग ४–० गोलको फराकिलो अन्तरले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

बलियो इरानलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा ४ गोल खाएको थियो । खेलको ७७ औं मिनेटमा मोहमदमह्दी अहमादीले गोल गर्दै इरानलाई सुरुवाती अग्रता दिलाए । ८५ औं मिनेटमा कप्तान अहमद रिजा जिलालीले गोल गर्दै इरानको अग्रता २–० को बनाए ।

नेपालविरुद्ध लगातार आक्रमण बुनेको इरानले ८६ औं मिनेटमा अलिरिजा मोनाजामीको गोलबाट अग्रता तेब्बर बनायो । त्यसपछि खेलको ९० औं मिनेटमा एरिया बार्जेगरले गोल गर्दै इरानलाई ४–० को जित दिलाए ।

जितसँगै समूह ‘डी’ को इरानले २ खेलमा ६ अंक जोडेको छ । इरान शीर्ष स्थानमा रहेको छ । पुछारमा रहेको नेपालले अंक जोड्न सकेको छैन ।

छनोटको पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट (युएई) सँग समान ४–० गोल अन्तरले पराजित बनेको थियो । इरानले पहिलो खेलमा कीर्गिस्तानलाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।

शुक्रबार भएको पहिलो खेलमा कीर्गिस्तानले युएईलाई २–० ले हराएको छ । नेपालले अब छनोटको अन्तिम खेलमा आइतबार कीर्गिस्तानको सामना गर्नेछ । यस समूहको शीर्ष टिमले फाइनल चरणमा स्थान बनाउनेछन् ।