कुवेतसँग खेल्ने नेपालको राष्ट्रिय फुटबल टोलीको तयारी

सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा आइतबारदेखि नेपालले तयारी सुरु गरेको हो

जनसम्मत
कार्तिक २५, २०७६, सोमबार

पोखरा । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको घरेलु खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको तयारी सुरु भएको छ ।

सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा आइतबारदेखि नेपालले तयारी सुरु गरेको हो । म्यानमारसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेर स्वदेश फर्किएको दोस्रो दिनबाटै नेपालले तयारी सुरु गरेको हो ।

मुख्य प्रशिक्षक जोहान कालिनले घरेलु खेलका लागि तीन नयाँ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । कालिनले भरत खवास, एलेन न्यौपाने र सुभाष गुरुङलाई बोलाएका हुन् ।

नेपाली टिमको प्रशिक्षणमा भने कप्तान किरण चेम्जोङ र रोहित चन्द छैनन् । रोहित इन्डोनेसियन लिगमा व्यस्त रहदा किरण भारतीय आइ लिग टिम मिनेर्वा पन्जाबको प्रि–सिजन तयारीका लागि व्यस्त छन् ।

कुवेतसँगको खेलअघि नेपालले म्यानमारसँग बिहिबार मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल ३–० गोल अन्तरले पराजित बनेको थियो । नेपालले कुवेतसँग मंसिरको ३ गते खेल्ने तालिका छ । उक्त खेलको भेन्यू भने टुङ्गो लागेको छैन ।

नेपालको दशरथ रंगशालामा खेल हुने भनिएपनि रंगशालाको मर्मत नसकिदा फिफा र एएफसीले नेपाललाई खेल न्युट्रल भेन्युमा गर्न निर्देशन दिएको छ । नेपालले न्यूट्रल भेन्यूको रुपमा भुटानलाई अघि सारेको थियो ।

छनोटको समूह ‘बी’ मा रहेको नेपालले अब घरेलु मैदानमा खेल्न बाँकी रहेको छ । छनोटमा ४ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको चौंथो स्थानमा छ ।