साग गेम आयोजनाको तिथिमितिमा तलमाथि हुँदैन : खेलकुदमन्त्री विश्वकर्मा

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को काउन्ट डाउन सुरु भएको छ, साग शुरु हुन अब काउन्ट डाउनमा १४ दिनमात्रै बाँकी छ

जनसम्मत
कार्तिक ३०, २०७६, शनिबार

पोखरा । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले साग गेम आयोजनाको तिथिमितिमा तलमाथि नहुने बताएका छन् ।

मन्त्री विश्वकर्माले आयोजक राष्ट्रको हिसावले सागको तयारी अन्तिम चरणमा पुगेको बताए ।

खेल पूर्वाधार निरीक्षणका लागि पोखरा आएका मन्त्री विश्वकर्माले साग तयारी समिति पोखरा अन्तरगतको प्रचार प्रसार तथा प्रकाशन समितिले शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै भने, ‘साग गेमको तयारी अन्तिम चरणमा पुगेको छ । अब, गेमका लागि तिथिमिति पनि तलमाथि हुँदैन ।’

साग गेम सम्पन्न गर्र्न बनेको व्यवस्थापन समिति र उपसमितिहरु खेल सम्पन्न गर्न केन्द्रीत भएर लागि परेको मन्त्री विश्वकर्माको दाबी छ । भौतिक पूर्वाधारको साथै तयारीको लागि कुनैपनि काम बाँकी नराखेको उनको दाबी थियो । केही पूर्वाधारहरु तयारी अवस्थामा रहेको जनाउँदै मन्त्री विश्वकर्माले बाँकी रहेको सबै पूर्वाधारहरु अबको १० दिनभित्र पूरा हुने दाबी गरे ।

‘साग गेम हाम्रो सम्मुखमा आएको छ,’ मन्त्री विश्वकर्माले भने, ‘त्यसको लागि हामी भब्य उद्घाटनको तयारीमा छौंं । घोषित मितिमै साग गेम हुनेछ । अब, गेम आयोजनाको तिथिमितिमा तलमाथि हुँदैन । सबै क्षेत्रबाट प्राप्त सहयोग र चासोका कारण पनि सागको भव्यता र सफलतामा कुनै कमी कमजोरी हुन दिनेछैनौं ।’

काठमाण्डौंको दशरथ रंगशाला, ललितपुर सातदोबाटो, पोखरा र जनकपुरमा हुने साग गेमको पुर्वाधार समयमै बन्ने मन्त्री विश्वकर्माको तर्क छ । उनले वर्तमान सरकारले साग गेम आयोजनाका लागि जोखिम मोलेको बताए । वर्र्तमान सरकार बनेको डेढ वर्षभित्रमा खेलकुदका सबै पूर्वाधार निर्माण गरेको उनको भनाई छ ।

मन्त्री विश्वकर्माले काठमाण्डौंमा हुने १९, पोखरामा हुने ९ र जनकपुरमा हुने १ गेमको खेल पूर्वाधारहरु निर्माणका हिसावले नरोकिने बताए । पोखराको खेल पूर्वाधार निर्माण कार्यपनि तिब्र रुपमा अघि बढेको मन्त्री विश्वकर्माले उल्लेख गरे ।

‘पोखराको सन्दर्भमा पनि खेल पूर्वाधारको हिसावले कुनै कमी देखिदैन,’ उनले भने, ‘ग्राण्ड स्टाण्डको निर्माण कार्य बाँकी छ । पोखरा रंगशालाको फुटबल मैदानमा रोपिएको दुबो मरेको छ । मरेको दुबोलाई रिप्लेस गर्नुपर्ने काम अझै बाँकी छन् । दुबो रिप्लेसदेखि फुटबल मैदान अबको १० दिनभित्र तयार हुने निर्माण कम्पनीले हामीलाई आश्वस्त पारेको छ ।’

पत्रकारद्वारा सोधेको एक प्रश्नमा मन्त्री विश्वकर्माले साग गेम अन्तरगतको महिला फुटबल पोखरामै हुने ग्यारेन्टी दिए । मन्त्री विश्वकर्माले पोखरा रंगशाला फुटबल मैदान निर्माण कम्पनीले निर्माण कार्यलाई सकारात्मक ढंगले तिब्रता दिएको उल्लेख गरे ।

उनले पूर्वाधार निर्माणमा बजेटको कुनै कमी नभएको बताए । बजेट भन्दा बाहिरको योजनाहरुलाई कार्यान्वयन गर्दा नीति नियमका कारण बजेट अपुग नपुग भएकोे भने मन्त्री विश्वकर्माले श्वीकारे ।

जेठ १५ को बजेटभित्र समावेश नभएका आयोजनाहरु यहाँ बन्दैछन् । केही आयोजनाहरुलाई हाल सागसँग जोडेर कामहरु गर्नुपर्ने बाध्यताहरु छन्,’ उनले भने, ‘बजेट बाहिरका कामहरुलाई बजेटको व्यवस्था गर्नुपर्दा स्वाभाविक रुपमा नीति, नियम, विधि र प्रकृयाहरुलाई फलो–अप गर्नुपर्ने हुन्छ । यसलाई अस्वाभाविक रुपले लिन हुँदैन । पोखरा रंगशाला निर्माण, व्यवस्थापन र ब्युटिफिकेशन बनाउने कार्यका लागि आजसम्म बजेट रोकिनु हुँदैन र रोकिएको पनि छैन ।’

मन्त्री विश्वकर्माले पोखरा रंशाला निर्माण कार्यका लागि गर्जो टार्ने बजेटहरु मन्त्रालयबाट निकासा गरेको ठोकुवा गरे । उनले साग गेमको आयोजनाभित्र परेको निर्माण कार्यका लागि राखेप हुँदै खेलकुद मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग आवश्यक बजेट माग गरेको उल्लेख गरे । अर्थ मन्त्रालयले पनि बजेटको मागलाई प्राथमिकतामा राखेर छिट्टै निकासा गर्ने प्रकृयामा रहेको मन्त्री विश्वकर्माको भनाई छ ।

काउन्ट डाउन शुरु

 

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को काउन्ट डाउन सुरु भएको छ ।

साग शुरु हुन अब काउन्ट डाउनमा १४ दिनमात्रै बाँकी छ । १३ औं साग आयोजक मूल समितिले शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सागको दिन गन्ती सुरू भएको घोषणा समेत गरेको छ ।

साग सुरु हुन १५ दिन बाँकी रहँदा शनिबारदेखि काउन्ट डाउन सुरू गरिएको हो । कार्यकममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश सिलवालले सागको वेभसाइटको उद्घाटन समेत गरेका छन् ।

कार्यक्रममा सागको अफिसियल प्रोमो समेत सार्वजनिक गरिएको छ । मंसिरको १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा १३ औं साग गेमका खेलहरु हुदैछ । सागको यस संस्करणमा २७ खेलमा प्रतिस्पर्धा हुने बताइएको छ ।

सागको यस संकरणमा ३ सय २४ स्वर्ण, ३ सय २४ रजत र ४ सय ७८ कास्यसहित कुल १ हजार १ सय ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछन् । सागको उद्घाटन समारोह ३ घण्टा २४ मिनेटको हुने कार्यक्रम छ । सागको उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।