अर्जेन्टिना सुपर क्लासिको फुटबल च्याम्पियन

साउदी अरेबियामा भएको खेलमा मेस्सीको एकमात्र गोलमा अर्जेन्टिनाले १–० को जित हासिल गरेको हो

जनसम्मत
कार्तिक ३०, २०७६, शनिबार

एजेन्सी । अर्जेन्टिना सुपर क्लासिको फुटबलको च्याम्पियन बनेको छ । कप्तान लियोनेल मेस्सीले निर्णायक गोल गरेपछि ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले सुपरक्लासिको उपाधि जितेको हो ।

साउदी अरेबियामा भएको खेलमा मेस्सीको एकमात्र गोलमा अर्जेन्टिनाले १–० को जित हासिल गरेको हो । मेस्सीले खेलको १३ औं मिनेटमा गोल गरेका थिए । एलेक्स स्यान्ड्रोले मेस्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । मेस्सीको पेनाल्टी प्रहारलाई गोलरक्षक एलिसनले बचाए । मेस्सीले रिबाउन्डमा गोल गरेका थिए ।

अर्जेन्टिनाले अग्रता लिनुभन्दा ३ मिनेटअघि ब्राजिलले पनि पेनाल्टी अवसर खेर फालेको थियो । फरवार्ड ग्याब्रिएल जेससलाई जर्मन पेजेलाले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । जेससको प्रहारले गोलरक्षक गलत दिशामा डाइभ दिएपनि पोस्टभन्दा बाहिर गएको थियो ।

ब्राजिलले त्यसपछि खेलमा फर्कने प्रयास गरेपनि फिनिसिङमा चुक्दा खेलमा फर्कन सकेन । मेस्सी झन्डै चार महिनापछि अर्जेन्टिनी जर्सीमा देखिएका हुन् । कोपा अमेरिकामा रेफ्रीविरुद्ध अभिव्यक्ति दिएपछि उनलाई कन्काकाफले प्रतिबन्ध लगाएको थियो ।