पोखराको हेमजामा जारी आलु महोत्सवमा १८ लाख भन्दा बढि आलुको कारोबार

जनसम्मत
चैत्र ३०, २०७५, शनिबार

हेमजा/पोखरा । हेमजामा जारी दशौं राष्ट्रिय हेमजा आलु महोत्सवमा शनिबारसम्म कूल १८ लाख ५० हजार मूल्य बराबरको आलुको कारोवर भएको आयोजकले बताएको छ ।

‘सुन्दर ठाउँ, हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ सञ्चालन भएको दशौैं राष्ट्रिय हेमजा आलु महोत्सव चैतको २२ गतेदेखि विष्णुपादुका खेल मैदानमा शुरु भएको हो । आइतबार महोत्सवको गण्डकी प्रदेश सांसद बिन्दुकुमार थापाको प्रमुख आतिथ्यतामा महोत्सव समापन गर्ने आयोजकले जनाएको छ ।

आलु महोत्सव कृषि महोत्सव भएको भन्दै दर्शकहरुले कृषि स्टलप्रति विशेष चासो देखाएका हुन् । महोत्सवमा टर्कीको बिक्री वितरण तथा प्रदर्शनी, कृषि औजार, तरकारी, लप्सी, दुध, रेशम खेती, तरकारी तथा पुष्प नर्सरीलगायतका कृषि स्टलहरु छन् ।

महोत्सवमा शनिबारबार लोकदोहोरीतर्फ नविन पौडेल, सुनिता नेपाली, कुमार पुन, मधु चापागाई, पूर्ण परियार, रमेश बिजी, जीवन दहाल, माया गुरुङ, तारापति सुवेदी र परशुराम अधिकारी तथा हास्यतर्फ सुरज भिरखोइरेको प्रस्तुति रहेको थियो । त्यस्तै राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगितालाई पनि निरन्तरता दिइएको थियो ।

महोत्सवमा आइतबार लोकदोहोरीतर्फ ऋषि अधिकारी, माया केसी, शंकर पन्त, रितु परियार, राजेन्द्र पोख्रेल, शान्ति डोटेल, विनोद रामदाम, माया गुरुङ, जीवन दहाल, तारापति सुवेदी र परशुराम अधिकारी प्रस्तुती रहने आयोजकले जनाएको छ ।

समग्र यस क्षेत्रको कृषि, पर्यटन, व्यवसाय, संस्कृति, साहित्य, खेलकुदलगायतको प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवको आकर्षमा आलु तथा ताजा तरकारीको वृहत प्रदर्शनी, आलुको ठूलो पहाड, आलुका विभिन्न परिकार, विविध साँस्कृतिक कार्यक्रम, चर्चित हाँस्य कलाकारहरुको वेजोड प्रस्तुति, जापानिज सुन्तला, च्याउँ कफि, चिया विक्रि एवम् प्रदर्शनी, विभिन्न कृषि विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी रहेको छ ।