साग गेम खेल्ने नेपाली खेलाडीको तयारी पूरा

५ सय ९९ नेपाली खेलाडीको प्रतिस्पर्धा

जनसम्मत
मंसिर ४, २०७६, बुधबार

पोखरा । मंसीरको १५ गतेदेखि घरेलु भूमीमा हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली खेलाडीको सम्पूर्ण तयारी पूरा भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत टिम तयारी समितिले मंगलबार पत्रकार सम्मेलन गरी नेपालले पदकका हिसावले सागलाई ऐतिहासिक सफल बनाउने दावी समेत गरेको छ ।

राष्ट्रिय टिम तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले साग गेम खेल्ने खेलाडीहरुको तयारीको हिसावले ५० भन्दा बढि स्वर्र्ण पदक जित्ने दावी गरे । रानाभाटले राखेपको लक्ष्य अनुरुप सागमा नेपालले ५० भन्दावढी स्वर्ण जित्नका लागि राम्रो तयारी गरेको पुष्टी गरे ।

‘हामीले २१ खेलका खेलाडीलाई वैदेशिक प्रशिक्षण गराएका छौँ, चार महिनादेखि पहिलो, दोस्रो, तेस्रो र चौथो चरणमा गरी चार चरणमा तयारी गराइएको छ,’ रानाभाटले उल्लेख गरे, ‘विभिन्न खेलका खेलाडीले वैदेशिक प्रशिक्षसँगै विभिन्न अन्तर्राष्ट्रि«य प्रतियोगितामा सहभागिता र सम्मानजनक उपलब्धी समेत हात पारेका छन ।’

‘यसअघि, सन् १९९९ मा नेपालमै भएको आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले कूल ३१ स्वर्ण जितेको थियो, सागमा त्यतिवेला १२ खेल समावेश थियो । साग पदकका हिसावले साग विगतको भन्दा उपलब्धिमूलक हुनेमा हामी विश्वस्थ छौं, रानाभाटले थपे ।
रानाभाटका अनुसार सागमा नेपालले २८ खेलमा पुरुषतर्फ ३ सय १२, महिलामा दुई सय ८७ गरी कूल ५ सय ९९ खेलाडीको सहभागिता रहनेछ । सागमा एक सय २३ प्रशिक्षक र ५० जना ब्यवस्थापकहरुको सहभागिता रहनेछ ।

प्याराग्लाङडिङको खेल लगभग नहुने निश्चित भएको रानाभाटले जनाए । खेल र खेलाडीको अन्तिम सहभागिताको विषयमा नेपाल ओलम्पिक कमिटीले एक÷दुई दिनमा निर्णय गरिसक्ने बताइएको छ ।

१३ औं सागको खेलाडीका लागि बैदेशिक प्रशिक्षणका लागि मात्र ४५ करोड रुपैयाँ बजेट रहेको राखेपले जनाएको छ । यसैगरी, प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई पहिलो चरणमा जनही १४ सय, दोस्रो चरणको २ हजार, तेस्रो चरणमा २२ सय र चौथो चरणमा २५ सय रुपैयाँ भत्ता उपलब्ध गराएको जनाएको छ ।

हाल उपलब्ध गराइएको भत्ता विगतको भन्दा दोब्बर रहेको समेत टिम तयारी समितिले जनाएको छ । सागका लागि सबै खेलका खेलाडीको छनोट समेत सम्पन्न भइ सकेको छ ।

खेलाडीको तयारी, सुविधा, वैदेशिक प्रशिक्षण र भत्ताको हिसावले खेलाडी खुशी रहेको राखेपले विश्वास गरेको छ । मंसीरको २४ गतेसम्म संचालन हुने सागका खेलहरु काठमाडौं, पोखरा र जनकपुरका भेन्यूहरुमा हुनेछ ।