महिला भलिबल टिमलाई उपराष्ट्रपतिद्वारा सम्मान

उपराष्ट्रपति पुनले राष्ट्रिय महिला भलिबल टिमको नाममा कप्तान अरुणा शाही र प्रमुख प्रशिक्षक जगदीश भट्टलाई लिखित बधाई सन्देश हस्तान्तरण गरे

जनसम्मत
मंसिर ४, २०७६, बुधबार

पोखरा । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई मंगलबार दिउँसो सम्मान गरेका छन् ।

एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको उपाधि जितेको भन्दैे उपराष्ट्रपतिको भवन, हरितगृहमा आमन्त्रण गरेर उपराष्ट्रपति ‘पासाङ’ले टोलीका खेलाडी र प्रशिक्षकलाई सम्मान गरेका हुन् ।

उपराष्ट्रपति पुनले राष्ट्रिय महिला भलिबल टिमको नाममा कप्तान अरुणा शाही र प्रमुख प्रशिक्षक जगदीश भट्टलाई लिखित बधाई सन्देश हस्तान्तरण गरे । उनले एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपमा सहभागी खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई खादा लगाएर सम्मान गरे ।

खेलाडीहरुलाई सम्मान गर्दै पराष्ट्रपति पुनले भलिबलको ४१ वर्षको अन्तर्राष्ट्रिय यात्रामा नेपाललाई पहिलो उपाधी दिलाएर राष्ट्रिय महिला भलिबल खेलाडीहरुले राष्ट्रको गौरव र प्रतिष्ठा बढाएको उल्लेख गरे । उनले आगामी दिनमा भलिबलमा अझै ठूलो अन्तर्राष्ट्रिय उपाधीहरु जित्ने अपेक्षासमेत व्यक्त गरे ।

उपराष्ट्रपतिले नेपालको सबै भूभागमा खेलिने भलिबल सबैभन्दा लोकप्रिय खेल भएको उल्लेख गर्दै भलिबलको विकासका लागि सरकारले छुट्टै बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले आसन्न साग प्रतियोगितामा उपाधिका लागि राष्ट्रिय महिला भलिबल टिमलाई शुभकामनासमेत दिए ।

राष्ट्रिय महिला भलिबल टिमका कप्तान अरुणा शाहीले भलिबलमा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय उपाधि दिलाउन पाउँदा अत्यन्त खुशी लागेको बताइन् ।