फिफा विश्वकप छनोटको खेलमा कुवेतसँग १–० ले नेपालको हार

भुटानको थिम्पुमा भएको प्रतिस्पर्धात्मक खेलको सुरुवातदेखि नै दवावमा परेको नेपालमाथि कुवेतले २८ औं मिनेटमा निर्णायक गोल गरेको थियो

जनसम्मत
मंसिर ४, २०७६, बुधबार

पोखरा । फिफा विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेलमा नेपाल १–० ले पराजित बनेको छ ।

भुटानको थिम्पुमा भएको प्रतिस्पर्धात्मक खेलको सुरुवातदेखि नै दवावमा परेको नेपालमाथि कुवेतले २८ औं मिनेटमा निर्णायक गोल गरेको थियो ।

कुवेतका कप्तान बदर अल मतवाले डिबक्स बाहिरबाट गरेको प्रहारलाई गोलकिपर किरण चेम्जोङले बचाउन असफल बने ।

यस जितसँगै कुवेतको पाँच खेलबाट १० अंक भएको छ । नेपालले समान पाँच खेलबाट ३ अंक जोडेको छ । विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा छ । समूहमा नेपालसहित कुबेत, जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेई छन् । नेपालले यसअघि चारवटै देशसँग खेल खेलिसकेको छ । चार खेलमा नेपालले तीनवटा हार खेपेको छ ।

यसअघि नेपाल कुवेतसँग ७–० ले पराजित भएको थियो । नेपालले तेस्रो खेलमा अस्ट्रेलियासँग ५–० गोलले पराजित भएको थियो । चौथो खेलमा नेपालले जोर्डनसँग ३–० गोलको हार खेपेको थियो । नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई २–० गोलले हराएको थियो ।

दशरथ रंगशालाको मैदान निर्माणले पूर्णता नपाएका कारण नेपालले न्युटल भेन्युको रुपमा भुटानमा घरेलु खेल खेलेको हो । नेपालले कुवेतविरुद्ध केही गोल गर्ने अवसर गुमाएको थियो । छनोट अन्तर्गत नेपालले अब बाँकी तीन खेल दशरथ रंगशालामा खेल्नेछ ।