साग महिला पुरुष भलिबलमा नेपाल, भारत र बंगलादेश एउटै समूहमा

प्रकाशित तालिकाअनुसार महिला तथा पुरुषको दुबैतर्फ नेपाल, भारत र बंगलादेश एउटै कठिन समूह ‘ए’मा परेको छ, समूह ‘बी’मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स छन्

जनसम्मत
मंसिर ५, २०७६, बिहीवार

पोखरा । घरेलु भूमिमा हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को महिला तथा पुरुष भलिबलको खेल तालिका सार्वजनिक भएको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुने महिला तथा पुरुष दुबैतर्फको प्रतियोगिता लिग कम नकआउटका आधारमा संचालन हुनेछन् ।

प्रकाशित तालिकाअनुसार महिला तथा पुरुषको दुबैतर्फ नेपाल, भारत र बंगलादेश एउटै कठिन समूह ‘ए’मा परेको छ । समूह ‘बी’मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स छन् ।

साग गेम अन्तरगत ६ देशको सहभागिता रहने भलिबलको खेलतालिका अनुसार नेपालको महिला पुरुषको दुबै टिमले पहिलो खेल बंगलादेशसँग खेलेर सागको सुरुवात गर्नेछ ।

नेपाल र बंगलादेशबीचको खेल आगामी बुधबार हुनेछ । यस्तै, दुबै टोलीले भारतसँग अर्को साताको शुक्रबार समूह चरणको अन्तिम खेल खेल्ने तालिकामा उल्लेख छ । समूहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् ।

यसअघि, नेपालले साग गेम खेल्ने महिला राष्ट्रिय भलिबल टिमको घोषणा गरिसकेको छ । साग गेम खेल्ने नेपाली राष्ट्रिय महिला भलिबल टिमममा अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, रेश्मा भण्डारी छन् ।

त्यसैगरि, राष्ट्रिय महिला भलिबल टिममा पुनम चन्द, जानकी भण्डारी, सुनिता खड्का, सोफिया पुन, उषाकुमारी बिष्ट, कमला पुन, सलिना श्रेष्ठ, उषा भण्डारी र हिरा के.सी. अटाएका छन् । प्रशिक्षक जगदिश भट्टले नेपाली राष्ट्रिय महिला भलिबल टिम सम्हालेका छन् ।

नेपाली महिला टिमले हालै बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोनको उपाधि जितेको थियो । फाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपाली महिला भलिबल टोलीले अपराजित ऐतिहासिक जित रचेको थियो ।

बंगलादेशको सहिद सुहवार्दी इन्डोर स्टेडियममा भएको फाइनलमा नेपालले माल्दिभ्सलाई २५–१३, २५–१२ र २५–८ को सोझो सेटमा जित निकाल्दै ऐतिहासिक उपाधि चुमेको थियो । सेमिफाइनलमा नेपालले बंगलादेशमाथि २५–७, २५–६ र २५–६ को सोझो सेटमा जित निकाल्दै फाइनल खेलेको थियो ।

नेपालले समूह चरणको पहिलो खेलमा अफगानिस्तानलाई २५–४, २५–९ र २५–६ ले हराएको थियो । त्यस्तै, दोस्रो खेलमा नेपालले कीर्गिस्तानलाई २५–१५, २५–१९ र २५–२० को सोझो सेटमा पराजित गरेको थियो ।

त्यस्तै, नेपालको पुरुष भलिबल टिमले पनि समूह चरणको पहिलो खेलमा आगामी बुधबार बंगलादेशसँग खेल्ने सार्वजनिक गरिएको खेल तािलकामा उल्लेख छ । समूह चरणको अन्तिम खेल नेपालले अर्को साताको शुक्रबार भारतसँग खेल्नेछ । समूह चरणको शीर्ष दुई टिम प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलिस्ट विजेता दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

सागका लागि नेपालले १४ सदस्यीय राष्ट्रिय पुरुष भलिबल टिमको घोषणा गरिसकेको छ । राष्ट्रिय टिममा पर्न सफल खेलाडीहरुमा ईम राना –कप्तान), राजेन्द्र विष्ट, धनबहादुर भट्ट क्षत्री, हरीहजुर थापा र टेकराज अवस्थी, हरी अधिकारी, दुर्गा खड्का, द्वारिका थापा, ईश्वर थापामगर, विनोद चन्द, विशाल विक, शरणसम्री क्षत्री, कुलबहादुर थापा, रविन चन्द छन् ।

पुरुष भलिबल टिम मंगलबार मात्र भारतीय टिमसँग प्रशिक्षण तथा अभ्यास खेल खेलर स्वदेश फर्किएको हो । घरेलु भूमीमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी गर्न नेपाली टिम भारत गएको थियो ।

नेपालले भारतसँगको तीन वटै मैत्रीपूर्ण खेलमा हार व्यहोरेको थियो । नेपाली टोलीले भारतमा मैत्रीपूर्ण खेलसँगै विशेष प्रशिक्षण लिएको थियो । भारत भ्रमणमा रहँदा नेपाली राष्ट्रिय भलिबल टिमले अन्तिम मैत्रीपूर्ण खेलमा भारतसँग पाँचवटै सेटमा पराजित बनेको थियो ।

बैंगलोरको साउदर्न साई कभर्डहलमा सोमबार भएको मैत्रीपूर्ण खेलमा नेपालको राष्ट्रिय भलिबल टिमले भारतको राष्ट्रिय टिमसँग २५–१५, २८–२६, २५–१९, २५–१९ र २५–१९ को सेटमा हारेको थियो । मैत्रीपूर्ण खेल भएको कारण पाँचै सेटमा खेल खेलाइएको थियो । नेपालमा आयोजना हुने १३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, जनकपुर र पोखरामा सञ्चालन हुनेछ ।