पोखरा रंगशालामा ग्राण्ड स्टाण्ड निर्माण कार्य तिब्र

आइतबार ७ कन्टेनर र सोमबार ८ कन्टेनर गरी १५ कन्टेनर प्यारापिटका आवश्यक सामान पोखरा आएको हो

जनसम्मत
मंसिर ५, २०७६, बिहीवार

पोखरा । १३ संस्करणको दक्षिण यसियाली खेलकुद (साग) अन्तर्गतको महिला फुटबलको स्पोर्ट्स भेन्यू पोखरा रंगशालामा ग्राण्ड स्टाण्डका निर्माण कार्य तिब्र गतिमा अघि बढेको छ ।

मंसीरको १५ गतेदेखि घरेलु भूमीमा सुरु हुन लागेको सोही प्रतियोगिताका लागि बुधबारबाट धमाधम प्यारापिट समेत जोड्ने काम गरिएको हो । निर्माणाधीन महिला फुटबल मैदानका लागि आवश्यक स्टिल मोडुलर ग्रान्डस्ट्यान्ड २ दिनअघि पोखरा आइपुगेको थियो ।

आइतबार ७ कन्टेनर र सोमबार ८ कन्टेनर गरी १५ कन्टेनर प्यारापिटका आवश्यक सामान पोखरा आएको हो । मैदान बनाउने जिम्मा भारतको ग्रेट स्पोर्टस् इन्फ्रा र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीले पाएको छ । जेभीका प्रोजेक्ट म्यानेजर दीपक बरालका अनुसार ५ दिनभित्र सबै प्यारापिट जडान भइसक्नेछन् । प्यारापिट ३८ सय क्षमताको हुनेछ ।

खेल मैदानका लागि परिवर्तन गर्नुपर्ने दुबो बुधबार साँझसम्म पोखरा आइपुग्ने र तत्काल फेर्न सुरु गर्ने कम्पनीले जनाएको छ । मैदानभित्र आवश्यक पर्ने सिन्थेटिक एथ्लेटिक ट्रयाकको कामसमेत धमाधम निर्माण भइरहेको छ । ट्रयाक एण्ड फिल्डको निर्माण कार्यपनि ५ दिनभित्र पूरा भइसक्नेछ । रंगशालाको अहिले ९० प्रतिशत पूरा भइसकेको छ ।

पोखरामा हुने सागका खेलहरुमा ट्रायथलन, आर्चरी, बिच भलिबल, ह्यान्डबल, महिला क्रिक्रेट, महिला फुटबल, ब्याडमिन्टन र भारोत्तोलन छन् । सबै खेलका लागि भौतिक र प्राविधिक निर्माण कार्य तीब्र रुपमा अघि बढिरहेको छ ।

तस्बीर : १३ औं साग प्रचारप्रसार तथा प्रकाशन समिति, पोखरा