ब्याडमिन्टन पूर्वाधार तयारी, सागमा सातैवटा राष्ट्रको सहभागिता

पोखरामा १ सय ५२ पदकको लागि खेलाडीहरु प्रतिस्पर्धा गर्दैछन्

जनसम्मत
मंसिर १०, २०७६, मंगलवार

पोखरा । १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) लक्षित निर्माण गरिएको ब्याडमिन्टन हलको काम अन्तिम चरणमा पुगेको छ ।

पोखरामा हुने ब्याडमिन्टन खेलको लागि निर्माण शुरु गरिएको पूर्वाधारको काम अन्तिम चरणमा पुगेको हो ।

‘ब्याडमिन्टनको लागि हल बनाउने काम सकिएको छ, अब म्याट विछ्याउने र सरसफाई गर्ने काम मात्र बाँकी छ,’ कास्क्की जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष डम्वरसिहं गुरुङले बताए । खेलाडप्को लागि चाहिने पूर्वाधार समेत सबै निर्माण भएको उनले जानकरी दिए ।

ब्याडमिन्टन हलमा अफिस, सूचना कक्ष, प्राविधिक कक्ष, स्टोर रुम, वार्म–अपलगायत ४ ओटा कोर्ट रहेको छ । प्रतियोगिताको लागि भने ३ ओटा कोर्ट मात्र प्रयोग गरिने छ । ब्याडमिन्टनको लागि म्याट भन्सारबाट हिँडिसकेको गुरुङले बताए । व्याडमिन्टन हल निर्माणको लागि करिब साढे चार करोड रुपैयाँ खर्च लागेको उनले जानकारी दिए ।

ब्याडमिन्टनको लागि आयोजक राष्ट्र नेपालको तर्फबाट २५ जना खेलाडी तथा प्रशिक्षक सहभागी हुनेछन् । जसमा पुरुष १०, महिला १० खेलाडी रहेका छन । विदेशीसहित ५ जना प्रशिक्षक रहनेछन । भारतको तर्फबाट भने ब्याडमिन्टनमा खेलाडीको मात्र सहभागिता रहनेछ । ब्याडमिन्टनको लागि भारतबाट १० पुरुष तथा १० महिला खेलाडीले सहभागीता जनाउनेछन् ।

त्यस्तै, पाकिस्तानबाट खेलाडी तथा प्रशिक्षक गरि १३ जनाको सहभागिता रहनेछ । जसमा ५ पुरुष, ५ महिला खेलाडी र ३ प्रशिक्षक रहनेछन् । बंगलादेशबाट भने १६ सदस्यीय टोली पोखरा आउनेछन् । जसमा ६ पुरुष, ६ महिला खेलाडी र ४ प्रशिक्षकले सहभागिता जनाउनेछन् ।

श्रीलंकाबाट भने १७ सदस्यीय ब्याडमिन्टन टोली पोखरा आउँदैछन् । जसमा ७ पुरुष, ७ महिला खेलाडी तथा ३ जना प्रशिक्षक रहनेछन् । भुटानको तर्फबाट भने ७ सदस्यीय ब्याडमिन्टन टोली प्रतियोगितमा सहभागी हुदैँछन् । जसमा ४ पुरुष, २ महिला खेलडी तथा एक प्रशिक्षकले सहभागिता जनाउने भएका छन् ।

माल्दिभस्बाट भने १७ सदस्यीय ब्याडमिन्टन टोलीले खेलमा सहभागिता जनाउनेछन् । जसमा ६ पुरुष, ६ महिला खेलाडी तथा ५ प्रशिक्षक सहभागी हुनेछन् । पोखरामा हुने ब्याडमिन्टन मंसीर १५ गतेदेखि २० गतेसम्म संचालन हुनेछ । टिम इभेन्टतर्फ मंसीर १५ गते महिला तथा पुरुष क्वाटरफाइनलका खेल हुनेछन् । मंसिरको १६ गते सेमिफाइनल तथा फाइनल खेल हुनेछन् ।

इन्भिभिजूअल इभेन्टतर्फ मंसिरको १७ गते महिला एकल तथा डबल्स, पुरुष एकल डवल र मिक्स डवल तर्फको प्रारम्भिक खेल हुनेछन् । मंसिरको १८ गते महिला तथा पुरुष सिंगल र डवल्सको क्वाटरफाइनल खेल हुनेछ । १९ गते सबै इभेन्टका सेमिफाइनल खेल हुनेछन् । २० गते सबै इभेन्टका फाइनल खेल हुने प्राविधिक समितिका संयोजक विद्याप्रसाद मर्सानिले जानकारी दिएका छन् ।

पोखरामा १ सय ५२ पदक

मंसिरको १५ गतेदेखि हुन लागेको १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा प्रतिष्पर्धा हुने ८ खेलमा कूल १ सय ५२ वटा पदकको लागि खेलाडीहरु प्रतिस्पर्धा गर्दैछन् ।

पोखरा बाहेक काठमाडौ र जनकपुर गरी संचालन हुने २८ खेलका लागि कुल १ हजार १ सय ११ पदकका लागि खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।
१३ औ सागको ८ खेलमध्ये आर्चरीमा ३०, व्याडमिन्टनमा २८, महिला क्रिकेटमा ४, महिला फुटबलमा ३, ह्याण्डबलमा ६, ट्रायथलनमा १५, विच भलिबलमा ६, भारोत्तोलनमा ६० गरी कूल १ सय ५२ वटा पदकका लागि प्रतिष्पर्धा गर्ने भएका हुन् ।

त्यसैगरी, आर्चरीमा १० स्वर्ण, १० रजत र १० कास्य गरी ३० पदकका लागि प्रतिस्पर्धा हुनेछ । ब्याटमिन्टनमा ७ स्वर्ण, ७ रजत र १४ कास्य, महिला क्रिकेटमा १ स्वर्ण, १ रजत र २ कास्य, ह्याण्डबलमा २ स्वर्ण २ रजत र २ कास्य, ट्रायथलनमा ५ स्वर्ण ५ रजत र ५ कास्य, महिला बिच भलिबलमा २ स्वर्ण २ रजत र २ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । भारत्तोलनमा समान २० स्वर्ण २० रजत र २० कास्य पदकमा प्रतिस्पर्धा हुनेछ ।

बहुप्रतिक्षित रुपमा रहेको साग शुरु हुन मात्र ६ दिन बाँकी रहँदा पोखरामा मात्रै विभिन्न खेलका ८ सय २४ जना खेलाडी तथा अफिसियलहरु पोखरा आउँदैछन् । त्यसैगरी करीव ४ सय ९१ जना प्राविधिक र अफिसियल पोखरा आउनेछन् ।

विभिन्न देशबाट आउने पाहुना स्वागत सत्कार तथा बसोबासको लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको होटल व्यवस्थापन समितिका संयोजक सूर्य भुजेलले बताए ।

पोखरा रंगशालामा आयोजना हुने ६ वटा खेलको विभिन्न खेल पूर्वाधारहरुको निर्माण कार्य ९५ प्रतिशत सकिएको र बाँकी काम यसै साता भित्र पुरा गरिने राखेप सदस्य राजेशकुमार गुरुङले जानकारी दिए ।