पोखरा साग गेममा टिकट शुल्क,  साधारण १ सय र सिजनलको ५ सय

साधारण र सिजनल टिकटबाट ४० लाख रुपैयाँ उठाउने योजना छ

जनसम्मत
मंसिर १०, २०७६, मंगलवार

पोखरा । पोखरा रंगशालामा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)को खेल हेर्न प्रवेश शुल्क तय गरिएको छ ।

सागको लागि साधारण टिकटका लागि १ सय रुपैयाँ तय गरिएको छ । सिजनल टिकट भने ५ सय रुपैयाँ तोकिएको छ । स्थानीय साग व्यवस्थापन अन्तर्गत स्रोतसाधन परिचालन समितिले सोमबार टिकटको शुल्क निर्धारण गरेको हो ।

साधारण र सिजनल टिकट लिएरै पोखरा रंगशाला परिसरभित्र छिर्ने अवसर दर्शकले पाउनेछन् । अन्यथा टिकट विना साग खेल हेर्नबाट सर्वसाधारण बञ्चित हुनेछन् ।

‘साधारण १ सय रुपैयाँ र सिजनलको लागि ५ सय रुपैयाँ तोकिएको छ,’ समितिका संयोजक सञ्जिबबहादुर कोईरालाले भने, ‘साधारणले टिकट लिएका दर्शकले एकदिन मात्रै हेर्न पाउँछन् । अन्य दिनको लागि फेरी टिकट लिनुपर्छ । सिजनल टिकट लिनेले साग प्रतियोगिता अवधिसम्म हेर्न पाउने छन् ।’

पोखरा रंगशालाभित्र ६ खेल हुनेछ । महिला फुटबल, महिला क्रिकेट, आर्चरी, ह्याण्डबल र व्याडमिन्टन हुनेछ । भारोत्तोलन पोखरा–११ माटेपानीस्थित एस.आर.केसी पार्टीप्यालेसमा, विच भलिबल र ट्रायथोलन लेकसाईडमा आयोजना हुने छ । ट्रायथोलन बाहेक अन्य सबै खेलमा दर्शकले टिकट लिएपछि मात्रै प्रवेश पाउने कडाई गरिएको छ ।

महिला फुटबलको फाईनलको लागि भने २ सय रुपैयाँ तोकिएको छ ।
सुरक्षाको दृष्टिकोणले पनि टिकटको व्यवस्था गर्नुपरेको कोइरालाले बताए । टिकट लिएपछि दर्शकलाई अनुशासित र मर्यादित बनाउनेमा समिति विश्वस्त रहेको कोइरालाको भनाई थियो । ‘टिकट नलिदाँ भद्रगोल हुने सम्भावना देखियो,’ उनले भने, ‘ट्रायथोलन बाहेकका ७ खेलको लागि शुल्क तय गरिएको हो ।’

महिला फुटबलको लागि अहिले झण्डै ८ देखि १० हजार सिट क्षमता मात्रै जडान गरिनेछ । व्याडमिन्टन हलमा झण्डै ४ सय दर्शक अटाउने क्षमताको हुने समितिका संयोजक कोइरालाले सुनाए । भारोत्तोलन आयोजनास्थल पार्टीप्यालेसमा ६ सय दर्शक अटाउने जनाइएको छ ।

‘सिजनल ५ हजारप्रति र साधारण १५ हजार प्रति टिकट विक्री गर्ने योजना छ,’ उनले भने, ‘विक्री टिकटबाट प्राप्त रकम खेलकुदको पुर्वाधारमा खर्च गरिने निर्णय समेत गरिएको छ । साधारण र सिजनल टिकटबाट ४० लाख रुपैयाँ उठाउने योजना समितिको छ ।’

टिकटबाट संकलित रकमलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको निर्देशनमा खर्च गरिने उनको भनाई थियो । विच भलिबलको लागि ५ सय दर्शक क्षमताको प्यारापिट बनाईने कास्की जिल्ला भलिबल संघका अध्यक्ष एवं विच भलिबल निर्माण उपभोक्ता समितिका अध्यक्ष भीमप्रसाद पराजुलीले जानकारी दिएका छन् । उनका अनुसार दुईवटा कोर्टलाई लक्षित गरेर अस्थायी प्यारापिट बनाईनेछ । कोर्टको पश्चिमतर्फ भने खुला नै रहनेछ । पश्चिमतर्फ तालसँगै फुट ट्रयाक छ ।

पोखरा रंगशालाभित्र पुर्वाधारसँगै व्युटिफिकेशनको काम भईरहेको छ । महानगरपालिकाले पनि व्युटिफिकेशनप्रति संवेदनशील देखिएको छ । यही मंसिर १५ देखि २४ गतेसम्म विभिन्न खेलस्थलमा खेल सञ्चालन हुने छ ।