भलिबलबाट साग गेम शुरु, नेपालको सुखद शुरुवात

नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै सुखद सुरुवात गरेको हो

जनसम्मत
मंसिर १२, २०७६, बिहीवार

पोखरा । घरेलु भूमी नेपालमा बुधबारदेखि १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) गेम शुरु भएको छ ।

महिला भलिबल खेलबाट यस संस्करणको साग गेम शुरु भएको हो ।

काठमाण्डौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको उद्घाटन खेलमा नेपाली महिला भलिबल टोलीले सानदार जित निकाल्दै सुखद सुरुवात गरेको छ । नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै सुखद सुरुवात गरेको हो ।

नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बुधबारदेखि भलिबलका खेलहरु सुरु भएका हुन् । साग खेलकुदको औपचारिक उद्घाटन हुनु चार दिन अगाडि नै साग अन्तर्गतको पुरुष र महिलाको प्रतिस्पर्धा सुरु भएको हो ।

दशरथ रंगशालामा भएको भलिबल खेलमा नेपालको महिला टिमले बंगलादेशसँग एकतर्फी रूपमा उत्कृष्ट प्रतिस्पर्धा गर्दै ३–० को सेटमा जित निकाल्दै सागमा सुखद शुरुवात ग¥यो । नेपालले पहिलो सेट २५–९ ले जित निकाल्यो । दोस्रो सेट पनि २५–९ अंकसहितको जित निकाल्यो । अन्तिम अर्थात तेस्रो सेटमा २५–११ अंकले पराजित ग¥यो ।

यस्तै, पुरुषतर्फको भलिबलमा नेपाल र बंगलादेशले समान एक÷एक अंक बाँडेको छ । बंगलादेशले खेल ३–२ सेटले जितेपनि बेष्ट अफ फाइब खेलेका कारण दुबै टिमले समान एक÷एक अंक बाँड्ने प्रावधान छ । यद्यपि, जसले जिते पनि यो खेलमा दुवै टिमले भने एक एक अंक मात्रै पाउने छन् ।

नेपालले पहिलो र तेस्रो सेट जितेको हो भने बंगलादेशले दोस्रो, चौथो र पाँचौ सेट आफ्नो पक्षमा पारेको छ । नेपालले दुवै सेट निकै प्रतिस्पर्धात्मक रुपमा पछि परेको थियो । पहिलो सेट २५–२० ले जितेको नेपालले दोस्रो सेट २५–२३ ले गुमाएको थियो ।

यसैगरी दोस्रो सेटमा नेपाल २३–२५ ले पछि परेको थियो । तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै २–१ को अग्रता बनाएको नेपाल चौथो सेटमा २६–२४ ले पछि परेपछि बंगलादेशले २–२ को बराबरी गर्न सफल भयो । अन्तिम तथा पाँचौं सेटमा बंगलादेशले नेपालमाथि १५–१२ को जित निकाल्यो ।

नेपाली महिला भलिबल टिमका प्रशिक्षक जगदिश भट्टले बंगलादेशविरुद्धको सहज जितले नेपाली खेलाडीको झनै आत्मविश्वास बढाएको बताएका छन् । प्रशिक्षक भट्टले बंगलादेशसँगको उद्घाटन खेलमा जित निकालेपनि नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिएका छन् ।

बिपक्षी बंगलादेशले प्रतिस्पर्धात्मक खेल खेल्न नसक्दा नेपाली खेलाडीले समेत उत्कृष्ट खेल देखाउन नपाएको प्रशिक्षक भट्टको प्रतिक्रिया छ । प्रशिक्षक भट्टले प्रतिद्वन्द्वीले कमजोर खेल्दा खेलाडीले आफ्नो शत् प्रतिशत खेल खेल्न नसकेको बताए । तर पनि नतिजा राम्रो भएकोमा खुसी मानेको प्रशिक्षक भट्टले बताए ।

यस्तै, उनले दोस्रो खेलमा बिहिबार हुने भारत विरूद्दको खेलमा अझ उत्कृष्ट प्रदर्शन गर्ने धारणा राखे । उनले हालै बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोनमा स्वर्ण पदक जितेकाले सागमा पनि स्वर्ण पदक जित्नुपर्ने चुनौती रहेको उल्लेख गरे ।

उनले विहीबार भारतसँगको खेलका लागि आफू तयार रहेको बताए । पहिलो दिनको उद्घाटन खेलमा भएको गल्ती भारतसँगको खेलमा कम हुने विश्वास दिलाए । भट्टले भारतलाई एसियाको भलिबलमा पावर हाउसको संज्ञा दिए । उनले भारतसँग जित निकाल्ने लक्ष्यका साथ खेल्ने बताए । यदि, समूह चरणमा पराजित भए सेमिफाइनलमा श्रीलंकासँग खेल्दै फाइनल पुग्ने लक्ष्य रहेको भट्टले सुनाए ।

भट्टले भने, ‘हामीलाई घरेलु कोर्ट र समर्थकको फाइदा छ । चार महिनादेखि तयारी गरेका छौं । यसभन्दा अघि भलिबलको नतिजा बिर्साउने गरी खेल्नेछौँ । हिजो के भयो नभई भोलि के गर्नेमा केन्द्रीत हुनेछौं ।’

यस्तै, कप्तान अरुणा शाहीले पनि प्रशिक्षकको भनाइमा सहमत जनाएकी छन् । उनले पनि प्रतिद्वन्द्वी कमजोर बन्दा खेलाडीले सोचे अनुसार खेल्न नसकेको बताइन् । उनले भारत विरूद्दको खेल रोमाञ्चक हुने दाबी गरेकी छन् । बंगलादेशसँगको प्रदर्शनभन्दा बिहीबार भारतविरुद्ध फरक खेल प्रदर्शन गर्ने कप्तान अरुणाको दाबी छ ।

नेपालले दुई साता अघि बंगलादेशमा सम्पन्न प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपमा बंगलादेशलाइ नै ३–० को सोझो सेटमा पराजित गरेको थियो । सोही जितलाई नेपाली महिला भलिबल टोली निरन्तरता राखेको छ ।
अब नेपाली महिला टोलीले भोलि भारतसँग प्रतिस्पर्धा गर्नेछ । महिला भलिबलमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा भारत र बंगलादेश छन् । भारत स्वर्णको दाबेदार हो ।

नेपालले पनि स्वर्ण जित्ने लक्ष्य राखेको छ । बुधबारै माल्दिभ्स पाकिस्तानबीच खेल हुनेछ । बिहीबार भारत र नेपाल तथा श्रीलंका र पाकिस्तानबीच खेल हुनेछ ।

शुक्रबार भारत बंगलादेश तथा श्रीलंका र माल्दिभ्सबीच खेल हुनेछ । शनिबार सेमिफाइनल, सोमबार तेस्रो स्थानको लागि तथा मगलबार स्वर्णको लागि प्रतिस्पर्धा हुनेछ । महिला भलिबलमा पाकिस्तान नआउने भएपछि माल्दिभ्सले वाक–ओभर पाएको छ ।

पुरुष भलिबलमा नेपाल, भारत र बंगलादेश एकै समूह ‘ए’ मा रहेको छ । समूह ‘बी’ मा पाकिस्तान, श्रीलंका र माल्दिभ्स रहेका छन् । पुरुष भलिबलमा पनि भारत स्वर्णको दावेदार हो । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

दोस्रो दिन पाकिस्तान र माल्दिभ्स र तथा भारत र बंगलादेशबीच खेल हुनेछ । तेस्रो दिन भारत र नेपाल तथा श्रीलंका र माल्दिभ्सबीच खेल हुनेछ । शनिबार श्रीलंका र पाकिस्तनबीच खेल हुनेछ । प्रतियोगिता अन्तर्गत आइतबार सेमिफाइनलका दुवै खेल हुनेछन् । सोमबार तेस्रो स्थानको लागि तथा मंगलबार स्वर्ण पदकको लागि खेल हुनेछ ।