तेक्वान्दोमा भारतको सहभागिता

जनसम्मत
मंसिर १२, २०७६, बिहीवार

पोखरा । नेपालमा आयोजना हुने १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा भारतको सहभागिता पक्का भएको छ ।

आन्तरिक विवादका कारण सुरुमा नाम दर्ता नगरेको भारतले अन्तिम समयमा सहभागिता जनाउने पक्का भएको हो ।

नाम दर्ताको समय सकिएपनि भारतले ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) मार्फत सहभागिताको लागि दबाब दिएको थियो । जस अन्तर्गत नेपाल ओलम्पिक कमिटिले बुधबार छलफल गर्दै भारतलाई सहभागिता गराउने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

भारतले तेक्वान्दोमा प्रतिस्पर्धा गर्ने भएसँगै नेपालको पदक संख्या घट्ने पक्का भएको छ । तेक्वान्दोमा भारत बलियो मानिन्छ । २९ स्वर्णका लागि प्रतिस्पर्धा हुने तेक्वान्दोबाट नेपालले धेरै पदकको आशा गरेको छ ।

यस्तै, स्रोतले कराते खेल समावेश गराउन समेत भारतले दबाब दिइरहेको जनाएको छ । यस बिषयमा भने छलफल भइरहेको बताइएको छ । अन्तरिक विवादको कारण भारतमा भएको १२ औं सागमा कराते समावेश गरिएको थिएन ।