ट्रायथलनमा विभागीय क्लब नेपाल आर्मी र एपीएफको बर्चस्व, दुआथलन महिला स्प्रिन्टमा हुमा र सकुन्तला दिदी बहिनीले पदक जिते

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता

जनसम्मत
वैशाख १, २०७६, आइतबार

पोखरा । आठौं खेलकुद प्रतियोगिताको ट्रायथलनमा विभागीय नेपाल आर्मीको त्रिभुवन क्लब र सशस्त्र प्रहरीको एपीएफले वर्चश्व जमाएको छ ।

प्रतियोगिता अन्तरगत पोखरामा सम्पन्न ट्रायथलनमा विभागिय क्लब नेपाल आर्मीको त्रिभुवन क्लब र सशस्त्र प्रहरीको एपीएफले सबै इभेन्टको पदक जित्न सफल रह्यो ।

प्रतियोगिताको स्प्रिन्टतर्फ ७५० मिटर पौडी, साइक्लिङ २० किलोमिटर र ५ किलोमिटरको दौडमा पुरुषतर्फ त्रिुभबन आर्मी क्लबका दिपेश चौधरीले १ घन्टा ८ मिनेट ३८ सेकेण्डमा दूरी पार गर्दै स्वर्ण पदक हात पारे । यसैगरि, उक्त स्पर्धामा त्रिभुवन क्लबका बसन्त थारुले १ घन्टा ९ मिनेट ९ सेकेण्डमा दूरी पार गर्दै रजत पदक तथा एपीएफका नितेश मानन्धरले १ घन्टा १५ मिनेट ९ सेकेण्डमा दूरी पार गर्दै कास्य पदक हात पारे ।

यसैगरि, ट्रायथलनकै महिलातर्फ एपीएफकी सोनी गुरुङले १ घन्टा २२ मिनेटमा दूरी पार गर्दै स्वर्ण पदक हात पारेकी छन् । सोही स्पर्धामा त्रिभुवन आर्मी क्लबकी केशरी थापामगरले १ घन्टा २९ मिनेट ३० सेकेण्डमा दूरी पार गर्दै रजत पदक तथा गण्डकी प्रदेशकी जमुना थापाले २ घन्टा ३० सेकेण्डमा दूरी पार गर्दै कास्य पदक हात पार्न सफल भइन् ।

दुआथलन स्प्रिन्टमा पुरुषतर्फ एपीएफ क्लबका लक्ष्मण मल्लले १ घन्टा १ मिनेट १५ सेकेण्डमा दूरी पार गर्दै स्वर्ण पदक हात पारे । सोही प्रतियोगितामा नेपाल आर्मीका हिमाल टमाटाले उक्त दूरी १ घन्टा १ मिनेट ५८ सेकेण्डमा पार गर्दै रजत र एपीएफका किरणकुमार मल्लले १ घन्टा ४ मिनेट १६ सेकेण्डमा दूरी पार गर्दै कास्य पदक जिते । ५ किमि दौड, २० किलोमिटर साइक्लिङ र पुनः २.५ किलोमिटरको दुआथलन स्प्रिन्टको दौड हुने गर्छ ।

यसैगरि, दुआथलन महिला स्प्रिन्टमा एपीएफकी हुमी बुढामगरले १ घन्टा १६ मिनेट १७ सेकेण्डमा दूरी पार गर्दै स्वर्ण पदक हात पारिन् । यसैगरि, नेपाल आर्मीकी निर्जला ताम्राकारले १ घन्टा १७ मिनेट ४७ सेकेण्डमा उक्त दूरी पार गर्दै रजत र एपीएफकी शकुन्तला बुढामगरले १ घन्टा २९ मिनेट ४६ सेकेण्डमा दूरी पार गर्दै कास्य पदक हात पारिन् ।

प्रतियोगितामा विभिन्न जिल्ला र विभागीय क्लबहरुका गरी करिव ५० जना खेलाडीको सहभागिता रहेको थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रतियोगिताको उद्घाटन गरेका हुन् । यस प्रकारका प्रतियोगिताहरुले खेलकुदमार्फत पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने मुख्यमन्त्री गुरुङको भनाई थियो ।

बिजेता खेलाडीलाई गण्डकी प्रदेश सांसद, अर्थ तथा बिकास समितिका अध्यक्ष दिपक कोइराला, नेपाल ट्रायाथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, महासचिब युवराज सुनुवार, कास्की जिल्ला ट्रायाथलन संघका अध्यक्ष सुमन देबकोटालगायतले बिजेता खेलाडीलाई मेडल प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरे ।