पोखरामा सागको औपचारिक उद्घाटन : ‘मौसम खुलेको छ, हिमाल खुलेको छ, खेलाडीले पनि हिमाल र मौसम जस्तै खुलेर खेल्नुहोला’

पोखरामा हुने ट्रायथलन र महिला क्रिकेट प्रतियोगिता आज (सोमबार)देखि शुरु हुनेछ

नारायण शाही
मंसिर १६, २०७६, सोमबार

पोखरा । घरेलु भूमीमा आयोजना गरिएको १३ ओं संस्करणको दक्षिण एसियाली खेलकुद प्रतियोगिता आइतबारदेखि शुरु भएको छ ।

यसअघि, भलिबलका खेलहरु संचालन गरिएपनि सागको औपचारिक उद्घाटन भने आइतबार गरिएको हो । विशेष समाराहबीच

काठमाण्डौंमा भब्य उद्घाटन भएको छ भने पोखरामा ब्याडमिन्टन खेलको उद्घाटनसँगै औपचारिक उद्घाटन भएको हो ।

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुनले व्याडमिण्टनका मुख्य रेफ्री माल्दिभ्सका ललित अब्दुललाई व्याडमिण्टनका कक हस्तान्तरण गर्दै पोखरामा औपचारिक रुपमा दक्षिण एशियाली खेलकुद (साग)को उद्घाटन गरिन् । सो अवसरमा उनले खेलकुदले खेलाडी तथा राष्ट्रहरुको आपसी सम्बन्धमा गाढापनको सम्बन्ध ल्याउने बताइन् ।

मन्त्री पुनले भनिन्, ‘पोखरासमेत सागको खेलकुदमय बनेको छ । सुन्दर शहर पोखराको मौसम र काखमा हिमाल खुलेको छ । खुलेको मौसमजस्तै खेलाडीहरुले पनि खुलेर खेल्नुहोला ।’

एशियन व्याडमिण्टनका अध्यक्ष उस्वाह नासीरले एशियन राष्ट्रहरुमा व्याडमिण्टन खेलको विकास गर्न सहकार्य गर्नुपर्नेमा जोड दिए । नेपाल व्याडमिण्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङ राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङ् लगायतले आफ्नो भनाई राखेका थिए ।

पोखरामा हुने ट्रायथलनको खेल आज (सोमबार)देखि शुरु हुने भएको छ । गण्डकी प्रदेश कानून मन्त्री हरिबहादुर चुमानले ट्रायथलनको एक कार्यक्रमबीच उद्घाटन गर्ने कार्यक्रम छ । ३ दिनसम्म चल्ने ट्रायथलन प्रतियोगितामा ५ स्वर्ण, ५ रजत र ५ कास्य गरि १५ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

नेपाल, भारत र श्रीलका गरि ३ देशका २६ खेलाडीको सहभागिता रहने खेलमा पुरुष र महिला दुवै विधामा संचालन हुनेछन् । खेल तालिकाअनुसार १६ गते पहिलो दिन पुरुष र महिलातर्फको स्प्रिन्ट बिधाको ट्रायथलन, दोश्रो दिन (मंगलबार) पुरुष र महिलातर्फको स्प्रिन्ट विधाको दुवाथलन र १८ गते अन्तिम दिन (बुधबार) मिक्स ट्रायथलन हुनेछ ।

ट्रायथलनका लागि पुरुष र महिला दुवै विधामा ७ सय ५० मिटर दुरीको पौडी, २० किलोमिटरको साइकिलिङ र ५ किलिमिटरको दौडको दुरी तय गरिएको छ । दुवाथलनका लागि ५ किलोमिटर दौड, २० किलोमिटर साइकिलिङ र २.५ किलोमिटर दौडको दुरी तय गरिएको छ । त्यसैगरि, मिक्स ट्रायथलनका लागि ३ सय मिटर पौडी, ६ किलोमिटर साईकिलिङ र २.५ किलोमिटर दौडको दुरी तय गरिएको छ ।

पोखराको फेवातालको छेउ कोमागानेपार्कबाट शुरु हुने प्रतियोगितामा भाग लिने सबै देशका खेलाडीहरु तयारी अवस्थामा रहेका नेपालका लागि ट्रायथलन प्रशिक्षक सानुभाई पौडेलले जानकारी दिएका छन् । पौडी, साइकिलिङ र दौडको मिश्रणलाई ट्रायथोलन भनिने यस खेल भव्यरुपमा सम्पन्न गर्न सम्वन्धित निकाय तिब्ररुपमा लागिरहेका छन् ।

यस्तै, १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रंगशालामा सोमबारदेखि महिला क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा आयोजक नेपालले माल्दिभ्सको सामना गर्नेछ । नेपालका लागि माल्दिभ्सविरुद्धको खेल समुहमा सबैभन्दा सहज खेल हुन सक्ने अनुमान लगाइएको छ ।

नेपाली टोलीका प्रशिक्षक जगतबहादुर टमटाले माल्दिभ्ससंग अहिलेसम्म एक खेल पनि नखेलेको बताए । ‘तर उनीहरुको बडिल्याङ्वेज हेर्दा हामीलाई सजिलो होला जस्तो लागेको छ,’ उनले भने । माल्दिभ्सको टोलीले आइतबार पोखरा रंगशालामा अभ्यास समेत गरेको थियो ।

सागमा भाग लिन आयोजक नेपाल सहित माल्दिभ्स, श्रीलंका र बंगलादेशका टोली पोखरा आइपुगेका छन् । बंगलादेश र श्रीलंकाका खेलाडीहरुले आइतबार दिउँसो नदीपुरस्थित प्रदेश सभा भवन पछाडीको क्रिकेट मैदानमा अभ्यास गरेको थियो ।

पोखरामा पहिलो पटक हुन लागेको साग महिला क्रिकेट प्रतियोगिता सफल पार्न स्थानीय समितिले पनि भरपुर कोशिष गरेको छ । ‘महिला क्रिकेट पोखरामा आयोजना गर्न पाउनु हामी पोखेलीहरुका लागि पनि सौभाग्यकै कुरा हो’ नेपाल क्रिकेट संघका सदस्य ऋषि गौतमले भने । यसलाई सभ्य र भब्य रुपमा सफल पार्न पोखरेलीको तर्फबाट पनि सक्दो प्रयास गरिनुपर्नेमा उनले जोड दिए ।

प्रतियोगिताको आवश्यक तयारी पूरा भएको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए । १ हजार दर्शक क्षमताको अस्थायी प्यारापिट तयार पारिएको उनले जानकारी दिए । त्यसैगरि, खेलाडीहरुका लागि चेन्जिङ रुम, मिडिया, हेल्थ डेस्क, खेलाडी तथा अफिसियलका लागि रिफ्रेसमेण्ट बक्स लगायत तयार भइसकेका छन् । मैदानभित्र चारवटा पिच बनाइएका छन् ।

संघीय मामिला तथा योजना मन्त्री किरण गुरुङले आज (सोमबार) बिहान ११ बजे प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगिता अन्तर्गत मंगलबार श्रीलंका र बंगलादेश भिडनेछन् । बुधबार हुने दुई खेलमा बंगलादेश र नेपाल तथा श्रीलंका र माल्दिभ्स आमने–सामने हुनेछन् ।

त्यस्तै, शुक्रबार नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोविन लिगका आधारमा संचालन हुने महिला क्रिकेटको शीर्षस्थान दुई टिमले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । लिगको पुछारका रहेका दुई टिमले कास्य पदकका लागि भिड्नेछन् ।

काठमाण्डौंमा सागको भव्य उद्घाटन

यता, काठमाण्डौंमा पनि १३ औं दक्षिण एसियाली खेलकुद(साग)को आइतबार एक समारोहबीच उद्घाटन भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रुपमा उद्घाटन गरिन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन तथा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवरा पूर्व प्रधानमन्त्रीहरू लगायतका उच्च अधिकारीको उपस्थिति थियो । यस संस्करणको सागमा अन्य संस्करणभन्दा पृथक, भब्य बन्यो । साग खेलको पूर्वसन्ध्यामा चारवर्ष लगाएर पुनर्निमाण गरिएको दशरथ रंगशाला आकर्षक एवं मनमोहक बनाइएको छ ।

औपचारिक उद्घाटन अगाडि सातै देशका सहभागी खेलाडीहरूले मार्च पास गरे ।

दशरथ रंगशालाको बाहिरि तथा भित्री दृश्यले अन्तर्राष्ट्रिय रंगशालाको स्वरुप झल्को दिएको छ । उद्घाटन समारोहमा रंगशाला सजीव देखिएको छ । विद्युतीय सजावटले बाहिरी आकर्षण थप्दा भित्र हुने कार्यक्रमले सागलाई अन्य संस्करणभन्दा पृथक बनायो ।

उद्घाटन समारोह ३ घण्टा १४ मिनेट चल्यो । समारोहमा हिमाल, पहाड, तराई–मधेशको झाँकी, भेषभूषा समेटिएको नेपालको विविधतापूर्ण संस्कृतिको झल्को दिएको थियो । उद्घाटन समारोहमा १५ हजार दर्शक रंगशालाभित्र थिए ।