ट्रायथलनमा सोनीले नेपाललाई स्वर्ण पदक दिलाइन्

निर्धारित दुरी १ घण्टा १३ मिनेट ४५ सेकेण्डमा पार गरेकी हुन्

जनसम्मत
मंसिर १७, २०७६, मंगलवार

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा सोमवार भएको ट्रायथलन अन्तरगत महिला स्प्रिन्ट विधामा नेपालकी सोनी गुरुङले स्वर्ण पदक जितेकी छिन् ।

योसँगै सागमा नेपालले ट्रायथलनका लागि पहिलो स्वर्ण जितेको हो । पुरुषतर्फ भने भारतका आदर्श एमएन सिनामोलले स्वर्ण पदक जितेका छन् ।
महिलातर्फको सोनीले निर्धारित दुरी १ घण्टा १३ मिनेट ४५ सेकेण्डमा पार गरेकी थिईन्भने पुरुष तर्फका भारतका आदर्शले १ घण्टा २ मिनेट ३१ सेकेण्डमा दुरी पार गरेका हुन् ।

त्यसैगरि पुरुषतर्फकै निर्धारित दुरी १ घण्टा २ मिनेट ५९ सेकेण्डमा पार गर्दै विस्वरंजित साइखोमले भारतलाई रजत पदक दिलाए । नेपालका लागि बसन्त थारुले १ घण्टा ३ मिनेट ६ सेकेण्डमा दुरी पार गर्दै कास्य पदक प्राप्त गरे ।

त्यसैगरि, महिलातर्फ रजत र कास्य दुवै भारतले हात पारेको छ । निर्धारित दुरी १ घण्टा १४ मिनेटमा पार गर्दै भारतकी सारोजिनी देवी थाउदमले रजत तथा १ घण्टा १४ मिनेट ५७ सेकेण्डमा दुरी पार गर्दै भारतकै प्रगन्या मोहनले कास्य जित्न सफल भएकी हुन् ।

स्वर्ण जितेपनि दुरी पूरा गर्ने समयमा अझ राम्रो नतिजा निकाल्न नसकेको नेपालका लागि ट्रायथलनका मुख्य प्रशिक्षक युवराज सिलवाल प्रतिक्रिया दिए । उनको प्रतिक्रिया थियो, ‘भारत हाम्रो मुख्य प्रतिद्वन्द्वी रहेको छ । हामीेले महिलातर्फ २ स्वर्ण र मिक्स रिलेमा १ स्वर्ण प्राप्त गर्ने गरि प्रशिक्षण गराएका छौं । पुरुषमा केही कमजोर देखिएपनि दुवाथलनमा स्वर्णको आशा गरेका छौं । पुरुषतर्फ रजत जित्नेमा हामी ढुक्क छौं ।’

सोमबार १३ औं साग अन्तरगत ट्रायथलन विधामा पुरुष र महिलाको दुई खेल भएको थियो । जसमा दुवैतर्फ ७ सय ५० मिटर दुरीको पौडी, २० किलोमिटरको साइकिलिङ र ५ किलोमिटरको दौडको दुरी तय गरिएको थियो ।

३ दिनसम्म चल्ने ट्रायथलन पुरुष र महिला दुवै विधामा हुने प्रतियोगिता अन्र्तगत नेपाल, भारत र श्रीलका गरि ३ देशका २६ खेलाडीको प्रतिस्पर्धा गर्नेछन् । मंगलबार पुरुष र महिलातर्फको स्प्रिन्ट विधाको दुवाथलन र बुधबार मिक्स रिले ट्रायथलन हुने भएको छ ।

दुवाथलनका लागि ५ किलोमिटर दौड, २० किलोमिटर साइकिलिङ र २.५ किलोमिटर दौडको दुरी तय गरिएको छ । त्यसैगरि, मिक्स रिले ट्रायथलनका लागि ३ सय मिटर पौडी, ६ किलोमिटर साइकिलिङ र २.५ किलोमिटर दौडको दुरी तय गरिएको छ ।

दोश्रो पटक सहभागी बनेको नेपालले यस अघिको १२ औं सागमा मिक्स टिम रिलेतर्फ १ रजत र महिला स्प्रिन्ट विधामा १ कास्य प्राप्त गरेको थियो ।