महिला क्रिकेटमा नेपालको विजय शुरु, एकै खेलमा चार कीर्तिमान, नेपाली बलर अञ्जली चन्दले दुई ओभरमा एक रन पनि नदिई ६ विकेट लिइन्

माल्दिभ्सका ९ खेलाडी शून्य रनमै आउट बन्दा अर्को कीर्तिमान भएको छ, १६ रनमा अलआउट गर्नु अर्को कीर्तिमान हो भने मात्रै ५ बलमा जित हासिल गर्नुपनि अर्को थप नयाँ कीर्तिमान भएको छ

जनसम्मत
मंसिर १७, २०७६, मंगलवार

पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपालले विजयी शुरुवात गरेको छ । आयोजक नेपालले पहिलो खेलमा माल्दिभ्समाथि १० विकेटको ठूलो जित निकालेको हो ।

टस जितेर ब्याटिङ रोजेको माल्दिभ्स १०.१ ओभरमा १६ रनमै समेटियो । ७ रनमा पहिलो विकेट गुमाएको माल्दिभ्सले ११ रनमा दोश्रो र तेश्रो, १५ रनमा चौंथो, पाँचौं, छैठौं र सातौं तथा १६ रनमा बाँकी विकेट गुमायो । माल्दिभ्सको पारीमा हम्जा नियाजले ९ तथा हाफ्सा अब्दुल्लाले ४ रन जोडिन् । बाँकी सबै खेलाडी शून्य रनमै आउट भए । नेपालले अतिरिक्त ३ रन दिएको थियो ।

जितका लागि १७ रनको लक्ष्य सहित मैदान उत्रिएको नेपालले पहिलो ओभरमै विजयी लक्ष्य पार ग¥यो । मात्रै ५ बलको सामना गरेकी काजल श्रेष्ठले ३ चौका प्रहार गर्दै अविजित १३ रन जोडिन् । ५ बल फालेकी माल्दिभ्सका बलर समा अलीले ४ अतिरिक्त रन दिएपछि नन्स्ट्राइकमा रहेकी सीता रानामगरले १ बलपनि सामना गर्न परेन ।

२.१ ओभरमा २ मेडन सहित विना रन ६ विकेट लिएकी अञ्जली चन्द ‘उमन अफ द म्याच’ बनिन् । करुणा भण्डारीले २ ओभरमा २ विकेट लिइन् । उनले १ मेडन राख्दै ४ रन खर्चिएकी थिइन् ।

जितपछि नेपाली टिमका कप्तान रुबिना क्षत्री बेलबासीले प्रतियोगितामा राम्रो शुरुवात गर्न सकेकोमा खुशी व्यक्त गरिन् । रुबिनाले यही प्रतियोगिताका लागि आफूहरुले लामो समयदेखि मिहेनत गरेको बताइन् । उनले नेपाली महिला क्रिकेट टिमले केही गरेर देखाउने अवसरका रुपमा यस प्रतियोगितालाई लिएको बताइन् ।

माल्दिभ्सका कप्तान जुना मारियाले नेपाल बलियो टिम भएको बताइन् । पहिलो अन्तर्राष्ट्रिय खेल भएका कारण उत्कृष्ट प्रदर्शन गर्न नसकेपनि अनुभव बटुल्ने अवसर पाएको उनले बताइन् । प्रतियोगिता अन्तर्गत मंगलबार श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषि गौतमको अध्यक्षतामा भएको उद्घाटन समारोहमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले दुवै टोलीका खेलाडीसँग हात मिलाउँदै शुभकामना दिए । कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजुलगायतले क्रिकेट खेलाडीबारे बोलेका थिए ।

एकै खेलमा चार कीर्तिमान

माल्दिभ्सविरुद्धको पहिलो खेलमा नेपालले चारवटा नयाँ कीर्तिमान बनाएको छ । नेपाली बलर अञ्जली चन्दले दुई ओभरमा एक रन पनि नदिई ६ विकेट लिइन् । यस टी–२० मा कीर्तिमान भएको नेपाली प्रशिक्षक जगतबहादुर टमटाले दावी गरे ।

त्यस्तै, माल्दिभ्सका ९ खेलाडी शून्य रनमै आउट बन्दा अर्को कीर्तिमान भएको टमटा बताउँछन् । १६ रनमा अलआउट गर्नु अर्को कीर्तिमान हो भने मात्रै ५ बलमा जित हासिल गर्नुपनि अर्को थप नयाँ कीर्तिमान भएको टमटाको दावी छ ।