आज (मंगलबार)देखि महिला फुटबल, नेपाल–श्रीलंकाको उद्घाटन खेल

श्रीलंकापछि नेपालले मंसिरको १९ गते माल्दिभ्स र २१ गते भारतसँग प्रतिष्पर्धा गर्नेछ

जनसम्मत
मंसिर १७, २०७६, मंगलवार

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत हुने महिला फुटबल प्रतियोगिता आज (मंगलबार)देखि पोखरा फुटबल स्टेडिममा सुरु हुँदैछ ।

आयोजक राष्ट्र नेपाल र श्रीलंकाले महिला फुटबलको उद्घाटन खेल खेल्ने तालिकामा उल्लेख छ ।

साग अन्तर्गत नेपाल र श्रीलंकाको आमने–सामने हुन लागेको भने यो पहिलो पटक भने होइन । ११ औं सागमा पहिलो पटक महिला फुटबलले प्रवेश पाएपछि नै यी दुई देश चिर परिचित प्रतिद्वन्द्वी हुन् । नेपालका लागि श्रीलंका बलियो प्रतिद्वन्द्वी भने मानिँदैन ।

सागको १२ औं संस्करण भारतमा भएको थियो । भारतको गुवाहाटीमा भएको खेलमा नेपालले श्रीलंकालाई ४–० को फराकिलो अन्तरले पराजित गरेको थियो । त्यसअघिका संस्करणमा पनि श्रीलंकाले नेपालमाथि दबाब कायम राख्न सकेको छैन । बंगलादेशको ढाकामा ११ औं संस्करणमा प्रवेश पाएको महिला फुटबल टोलीले त्यतिबेला पनि श्रीलंकालाई ८–० को फराकिलो अन्तरले पराजित गरेको थियो ।

श्रीलंकापछि नेपालले मंसिरको १९ गते माल्दिभ्स र २१ गते भारतसँग प्रतिष्पर्धा गर्नेछ । सहभागी राष्ट्र थोरै र मैदानको अवस्थाका कारण पनि प्रत्येक खेलपछि एक दिन खेल रोकिएको छ । राउन्ड रोबिन लिगबाट शीर्षस्थानमा उक्लिने दुई टिमले मंसिरको २३ गते फाइनलमा भिड्नेछन् ।

श्रीलंकासँग भिड्न नेपाली टोली तयार रहेको प्रशिक्षक हरि खड्काले प्रतिक्रिया दिएका छन् । पोखरा रंगशालास्थित फुटबल स्टेडियमसमेत प्रतियोगिताका लागि तयार पारिएको छ । नेपालका प्रशिक्षक खड्काले घरेलु मैदानमा जितेर इतिहास खडा गर्न चाहेको बताउँछन् ।
‘यस पटक हामीले कडा मिहेनेत गरेका छौं । हामीसँग घरेलु मैदान पनि छ । दुवै स्ट्रेन्थ मिलाएर टाइटलका लागि तयार छौं । अघिल्ला संस्करणहरुमा भारतले नेपाललाई रजतमा रोक्दै आएको छ ।’

पोखरा रंगशालामा हुने साग महिला फुटबलका लागि खेलाडीसहित सागका लागि ३७ जना अफिसियल टोली नेपालको प्रतिनिधित्व गर्नेछन् । १३ औं साग महिला फुटबल प्रतियोगितामा गोलरक्षकका रुपमा एन्जिला तुम्बापो, अञ्जना रानामगर र उषानाथ छन् ।

डिफेन्डरमा गीता राना, पुनम जर्घामगर, अमृता जैसी, हिराकुमारी भुजेल, कविता धिमाल, मनमाया लिम्बु र पुजा राना उभिनेछन् । मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, सरु लिम्बु, इन्दिरा राई, अनिता बस्नेत, मन्जलीकुमारी योन्जन, विमला चौधरी छन् । परवार्डको जिम्मा सावित्री भन्डारी, निरु थापा, अनिता केसीले सम्हाल्ने छन् ।