ब्याडमिन्टन टिम इभेन्टमा नेपाललाई कास्य पदक

सेमिफाइनल प्रतिस्पर्धामा नेपालका महिला तथा पुरुष दुबै टोली श्रीलंकासँग पराजित बनेपछि नेपालले काश्यमा चित्त बुझाएको हो

जनसम्मत
मंसिर १७, २०७६, मंगलवार

पोखरा । १३ औं दक्षिण एसियाली साग अन्तर्गत ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत पुरुष तथा महिला टिम इभेन्टमा नेपाल कास्य पदकमै सीमित बनेको छ ।

पोखरा रंगशालास्थित नवनिर्मित कभर्ड हलमा सोमबार भएको सेमिफाइनल प्रतिस्पर्धामा नेपालका महिला तथा पुरुष दुबै टोली श्रीलंकासँग पराजित बनेपछि नेपालले काश्यमा चित्त बुझाएको हो ।

बिजयी श्रीलंका भने फाइनलमा प्रवेश गरेको छ ।

श्रीलंकाले पुरुषतर्फ नेपाललाई ३–१ को सेटमा तथा महिलातर्फ ३–० को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । पुरुषतर्फको खेलमा नेपालका रत्नजित तामाङ श्रीलंकाका निशान पेर करुनारत्नेसँग सोझो सेटमा पराजित बने । करुणारत्नेले रञ्जितलाई २२–२० र २१–९ को सेटमा पराजित गरे ।

त्यस्तै, नेपालका दीपेश धामी श्रीलंकाका सचिन प्रेमाशन अन्गोडा भिडानेजसँग २४–२२, १८–२१ र १६–२१ सेटमा पराजित बने । यसैगरी, अर्को खेलमा रञ्जित तामाङ र दीपेश धामीको समूह थरिन्डु डि डुम्बुकोला गुनाथिलाके र सचिन प्रेमासन अन्गोडा भिडानेजसँग ११–२१ र १५–२१ को सोझो सेटमा पराजित भए ।

नेपालका लागि भने प्रिन्स दाहालले सान्त्वना जित निकाले । प्रिन्सले श्रीलंकाका रन्थुस्का ससिन्डु करुणाथिलाकेलाई २१–१८, १९–२१ र २१–१९ को सेटमा पराजित गरेपनि नेपाललाई फाइनलमा पु¥याउन असमर्थ बने ।

पाकिस्तानलाई हराउँदै भारत ब्याडमिन्टन प्रतियोगितातर्फको पुरुष टिम इभेन्टको फाइनलमा प्रवेश गरेको छ । भारतले पाकिस्तानलाई सोझो सेटमा पराजित गर्दै श्रीलंकासँगको उपाधि भिडन्त पक्का गरेको हो । स्वर्ण पदकका लागि भारतले श्रीलंकासँग प्रतिष्पर्धा गर्नुपर्नेछ ।

भारतका श्री साइ सिरिल वर्मा अल्लुरीले पाकिस्तानका अवेइस जाहिदलाई २१–७, २१–७ को सोझो सेटमा पराजित गरे । अर्को खेलमा भारतका कृष्णप्रसाद गरंगाले पाकिस्तानका अलि मुरादलाई २१–१९ र २१–१८ र तेश्रो खेलमा भारतका अरुण जर्जले पाकिस्तानका राजा मोहम्मद हुसेनलाई २१–१२ र २१–१२ को सेटमा पराजित गरे ।

महिलातर्फको सेमीफाइनल खेलमा नेपालकी नङ्शाल तामाङ श्रीलंकाकी थिलिनी प्रोमाडिकासँग २–२१ र १६–२१ को सोझो सेटमा पराजित बनिन् । नेपालकी अनुमाया राई डिल्मी प्रेम्सीकासँग ८–२१ र ८–२१ को सेटमा बनिन् । त्यस्तै, नेपालकै सिमा राजवंशी अचिनी निमलेशीका रथनासिरीसँग १२–२१ र ८–२१ को सेटमा पराजित बनिन् । बिजयी श्रीलंका फाइनलमा प्रवेश गरेको छ ।

त्यस्तै, सोमबार नै भएको अर्को सेमिफाइनल खेलमा भारतले पाकिस्तानलाई ३–० को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । भारतकी साइ उत्तेजिथा रावले पाकिस्तानकी महुर शाहजादलाई २१–१२ र २१–१८, गायत्री गोपीचन्दले पल्वाशा बशीरलाई २१–१४ र २१–११ तथा स्रियंशी प्रदेशीले गजला सिद्धिकीलाई २१–१४ र २१–१२ को सेटमा पराजित गरे ।