साग ब्याडमिन्टनमा नेपाल

व्यक्तिगत स्पर्धामा खराब, डबल्स र मिक्समा सुधारिएको प्रदर्शन

जनसम्मत
मंसिर १८, २०७६, बुधबार

पोखरा । पोखराको ब्याडमिन्टन कोर्टमा जारी १३ औं साग अन्तरगतको व्याडमिन्टनको व्यक्तिगत इभेण्टमा खराब प्रदर्शन गरेका नेपाली खेलाडीले डबल्स र मिक्स स्पर्धामा सुधारिएको प्रदर्शन गरेका छन् ।

विहानी सत्रको खेलका सबै सेट गुमाएका नेपाली खेलाडीले दिवा सत्रका खेलमा सुधारिएको प्रदर्शन गर्दै जित निकालेका हुन् ।

मंगलवार भएका १६ औं राउण्डका खेलमा पुरुष डबल्सतर्फ नेपालका प्रिन्स दाहाल र प्रफुल्ल महर्जनले जित निकाल्दै क्वार्टरफाईनल प्रवेश गरेका छन् । दाहाल–महर्जन जोडीले पाकिस्तानका मुकित ताहिर र अवाईज जाहिदको जोडीलाई ३–१ को सेटमा हराएको हो ।

यसैगरी, महिला डबल्समा जेसिका गुरुङ् र रसिला महर्जनको जोडी पनि क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । उक्त जोडीले पाकिस्तानकै शेरा अक्रम र जावेद हुमाको जोडीलाई २–१ को सोझो सेटमा पराजित ग¥यो ।

यस्तै, मिक्स डबल्समा नेपालका विकास श्रेष्ठ र अनुमाया राईले पनि क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे । सो जोडीले पाकिस्तानका राजा मोहम्मद हसिन र शेरा अक्रमको जोडीलाई २–१ को सोझो सेटमा हराएको हो ।

डबल्स र मिक्स डबल्सबाहेक सिंगलमा नेपालले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेन सिंगल्सतर्फ कुनैपनि नेपाली खेलाडीले जित निकाल्न असफल रहे ।

नेपालका दिपेश धामी, रसिला महर्जन, नङ्सल तामाङ् पाकिस्तानका मुरद अलि, श्रीलंकाकी ए. रत्नसिरि कपुरु मुद्दियानसेलेज, भारतकी गायत्री गोपी चन्दसँग २–१ को सोझो सेटमा पराजित भए ।

मंगलवारै भएको प्रतिष्पर्धाबाट श्रीलंकाका दिनुका निसान परेरा करुणारत्ने, दिल्मी डायस सिंगल तर्फ भने आर. करुणथिलेक र के. सिरिमांगेको जोडी मिक्स डबल्समा क्वाटरफाईनमा पुगेको छ ।

उनीहरुले वंगलादेशका मोहम्मद सलमान खान, नेपालकी रसिला महर्जन तथा वंगलादेशकै शुभो खण्डकार र बृष्टि खातुनको जोडीलाई पराजित गरे ।

यसैगरी, पुरुष सिंगल तर्फ भारतका आर्यमान टण्डनले पाकिस्तानका अमिद जाहिदलाई ३–१ को सेटमा पराजित गरे । महिला सिंगलतर्फ भारतकै गायत्री गोपीचन्दले नेपालकी रसिला महर्जनलाई सोझो सेटमा पराजित गरिन भने पुरुष डबल्स तर्फ भारतकै कृष्णप्रसाद गर्ग र ध्रुब कपिलाले वंगलादेशका शुभो खण्डाकेर र तुसहर कृष्ण रायको जोडीलाई २–१ को सेटमा पराजित गरे ।

महिला डबल्सतर्फ जेसिका गुरुङ र रसिला महर्जनको जोडीले पाकिस्तानका सेरा अक्रम र जावेद हुमाको जोडीलाई २१–९ र २१–१७ को सोझो सेटमा पराजित गरे । अर्को खेलमा भारतका एम जाकमपुदी र एस नेलाकुर्तीको जोडीले मालदिभ्सका निला अहमद नाजिव र मिसा फत्तुल्लाहको जोडीलाई २१–११ र २१–१० को सोझो सेटमा पराजित गरे ।

अर्को खेलमा बंगलादेशका वृष्टि खातुन र रहेना खातुनको जोडीले नेपालको अमिता गिरी र अनुमाया राईको जोडीलाई २१–१४, २१–२३ र २१–१६ को सेटमा पराजित गरे । त्यस्तै, भारतका कुहु गर्ग र अनुस्का परिखको जोडीले भुटानको सम्झना गुरुङ र फुन्ट्सो छोदेन थिङको जोडीलाई २१–८, ११–० मा रिटायर्ड हट गराए ।

यसैगरी श्रीलंकाको ए रत्नासिरी कापुरु र यूको जोडीले पाकिस्तानका पल्वासा बसिर र महुर साहजादको जोडीलाई २१–१० र २१–९ को सोझो सेटमा पराजित गरे ।

मिक्स डबल्सतर्फ श्रीलंकाका आर करुणतिलके र के श्रीमांगेको जोडीले बंगलादेशका शुभ खण्डेकर र वृष्टि खातुनको जोडीलाई २१–११ र २१–१३ को सेटमा पराजित गरे । अर्को खेलमा भारतका सुमित रेड्डी र सिक्की रेड्डीको जोडीले वाकओभर दिएपछि पाकिस्तानका मोहम्मद अतिक र गाजला सिद्धिकीको जोडी क्वाटरफाइलनमा प्रवेश ग¥यो ।

अर्को खेलमा बंगलादेशका मोहम्मद सलमान खान र उर्मी अख्तरको जोडीले भुटानका कर्मा चेन्द्रु र फुन्ट्सो छोदेन थिङको जोडीलाई २१–१७ र २१–६ को सोझो सेटमा पराजित गरे ।