ब्याडमिन्टनमा नेपाललाई ३ कास्य पदक पक्का

पुरुष सिंगल, डबल्स तथा मिक्स डबल्समा कम्तिमा कास्य पदक

जनसम्मत
मंसिर १९, २०७६, बिहीवार

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत ब्याडमिन्टन प्रतियोगितामा नेपालले पुरुष सिंगल, डबल्स तथा मिक्स डबल्समा कम्तिमा कास्य पदक पक्का गरेको छ ।

पोखरा रंगशालास्थित ब्याडमिन्टन हलमा बुधबार भएको खेलमा पुरुष सिंगलतर्फ नेपालका रत्नजित तामाङ, पुरुष डबल्समा प्रिन्स दाहाल र प्रफूल्ल महर्जन तथा मिक्स डबल्समा विकास श्रेष्ठ र अनुमाया राईको जोडीले सेमीफाइनल यात्रा तय गर्दै कास्य पदक पक्का गरेका हुन् ।

नेपालका रत्नजित तामाङले बंगलादेशका सिग्बत उल्लाहलाई सोझो सेटमा पराजित गरे । उनले २१–१३ र २३–२१ को सेटमा पराजित गर्दै सेमीफाइनल यात्रा तय गरे ।

यस्तै, पुरुष डबल्सतर्फ नेपालका प्रिन्स दाहाल र प्रफुल्ल महर्जनको जोडीले भुटानका कर्मा छेन्द्रु र अनिष गुरुङ्को जोडीलाई २१–१४ र २१–१२ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेका छन् ।

यसैगरी, मिक्स डबल्सतर्फ विकास श्रेष्ठ र अनुमाया राईको जोडी भुटानका अनिष गुरुङ् र सम्झना गुरुङ्को जोडीले वाकओभर दिएपछि सोझै सेमीफाइनलमा पुगे ।

महिला डबल्सतर्फ नेपालका जेसिका गुरुङ् र रसिला महर्जनको जोडी श्रीलंकाका प्रमोदिका हेण्डेहवा र के. सिरिमाङ्गेको जोडीसँग २१–८ र २१–७ को सोझो सेटमा पराजित बने ।

पुरुष डबल्सतर्फ नेपालका दिपेश धामी र रत्नजित तामाङ्को भारतका कृष्णप्रसाद गर्ग र ध्रुव कपिलाको जोडीसँग २१–१६ र २१–१३ को सोझो सेटमा पराजित भए ।

यसैगरी, मिक्स डबल्सतर्फ नेपालका नविन श्रेष्ठ र नङ्साल तामाङ्को जोडी वंगलादेशका मोहम्मद सलमान खान र उर्मी अख्तरको जोडीसँग २१–१३ र २१–१७ को सोझो सेटमा पराजित भए ।