साग महिला ह्याण्डबलमा नेपाल सेमिफाइनलमा

समुह चरणको लिगमा लगातार दुई खेल हारेपछि नेपालको पुरुष टोली बाहिरियो

नारायण शाही
मंसिर २०, २०७६, शुक्रबार

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद अन्तरगत नेपाल महिला ह्याण्डबलको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’मा रहेको नेपालले लगातार २ खेल जित्दै ६ अंक बटुलेसँगै नेपाल सेमिफाइनलमा प्रबेश गरेको हो ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशलाई २६–२४ ले गोल गर्दै जित हात पा¥यो । नेपालको लागि उमा राईले सर्वाधिक ८ गोलको योगदान दिइन् । जसमध्ये उमाले ७ गोल पेनाल्टीबाट गोल गरेकी थिइन् । नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई २९–१९ ले जित हात पारेको थियो ।

नेपालको पुरुष टोली बाहिरियो

साग अन्तरर्गतको पुरुष ह्याण्डबलमा नेपाल बाहिरिएको छ । समुह चरणको लिगमा लगातार दुई खेल हारेपछि नेपालको पुरुष टोली बाहिरिएको हो । दोस्रो खेलमा पाकिस्तानसँग ४३–१९ गोलले पराजित बनेपछि नेपाल प्रतियोगिताबाटै बाहिरिएको हो ।

यसअघि, नेपालले पहिलो खेलमा श्रीलंकासँग ३७–३० गोलले हार्दै अंक गुमाएको थियो । समूह ‘बी’ मा पाकिस्तानले पहिलो खेलमा जित निकाल्दै ३ अंक जोडेको छ । पाकिस्तानले शुक्रबार श्रीलंकासँग खेल्नेछ । मोहम्मद जुबेरले पाकिस्तानका लागि सर्वाधिक १० गोल गरे । नेपालका कप्तान बिशाल बस्नेतले टोलीका लागि सर्वाधिक ५ गोल गरे ।

 

माल्दिभ्सको महिला टोली बाहिरियो

पोखरामा जारी साग महिला ह्याडबलमा पाकस्तिानले मालदिभ्समाथि ३२–२७ गोल गर्दै जित हासिल गरेको छ । जितसँगै पाकिस्तानले ३ अंक जोडेको छ । माल्दिभ्स भने लगातार दुई खेल हार्दै समूह चरणबाटै बाहिरिएको छ । यसअघि, माल्दिभ्सले आफ्नो पहिलो खेलमा भारतसँग ९–४१ को फरक गोल अन्तरले हारेको थियो ।

पाकिस्तानको जितको लागि निजिसाले सर्वाधिक ८ गोल गरिन् । माल्दिभ्सको तर्फबाट अडिमा र रिमाले सर्वाधिक समान ६ गोल गरिन् ।

पुरुष ह्याण्डबलमा बंगलादेशको जित

साग खेलकुद अन्तरगतको पुरुष ह्याण्डबलमा बंगलादेशले जित निकालेको छ । पहिलो खेलमा भारतसँग ४२–३३ ले हारेको बंगलादेशले समूह चरणको बिहीबार आफ्नो दोस्रो खेलमा माल्दिभ्समाथि ३८–२२ ले जित्दै ३ अंक बटुलेको हो ।

समूह ‘ए’ बाट भारत र बंगलादेशले समान ३ अंक जोडेको छ । शुक्रबार समूहको अन्तिम खेल माल्दिभ्स र भारतबीच हुनेछ । बंगलादेशका लागि मेहेदी हसनले सर्वाधिक ७ गोल गरे । माल्दिभ्सका लागि मोहम्मद रेजुनी अहमदले सर्वाधिक ६ गोल गरे ।