साग पुरुष क्रिकेटमा नेपालको कीर्तिमानी जित

भुटानलाई १ सय ४१ रनले पराजित गर्दै नेपालले शानदार जित निकालेको हो, टी–२० अन्तराष्ट्रिय क्रिकेटमा नेपालको यो अहिलेसम्मकै फराकिलो जित हो

जनसम्मत
मंसिर २०, २०७६, शुक्रबार

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले बिहिबार सहज जित हात पारेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा भुटानलाई १ सय ४१ रनले पराजित गर्दै नेपालले शानदार जित निकालेको हो ।

नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको भुटानले ६ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । भुटानका मिक्यो दोर्जीले सर्वााधिक २७ रन बनाए । यस्तै सोनाम तोब्गेयले १५, तोब्डेन सिन्गेले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

नेपालका पारस खड्काले २ तथा करन केसी, ललित राजबंशी र पवन सर्राफले समान १ विकेट लिए । यसअघि, पहिले ब्याटिङ गरेको नेपालले निधारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनाएको थियो । नेपालको विशाल योगफलमा कप्तान ज्ञानेन्द्र मल्लले शतकीय इनिङ्स खेले ।

यस्तै, पारसले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा उप कप्तान दिपेन्द्रसिंह ऐरीले अविजित ४५ रन बनाए । टी–२० अन्तराष्ट्रिय क्रिकेटमा नेपालको यो अहिलेसम्मकै फराकिलो जित हो । भुटानका कर्मा दोर्जीले २ तथा तोब्डेन सिंगेले १ विकेट हात पारे ।