साग आर्चरीको कम्पाउण्ड मिक्स टिमतर्फ नेपाल फाइनल पुग्यो

नेपाललाई एक कास्य प्राप्त, ४ कास्यका लागि प्रतिस्पर्धा

जनसम्मत
मंसिर २२, २०७६, आइतबार

पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा भएको आर्चरी खेलमा नेपालले कम्तिमा एक रजत पदक जित्ने पक्का भएको छ ।

१० वटा स्वर्ण पदकको लागि जारी उक्त प्रतिस्पर्धामा नेपालले कम्पाउण्ड (५० मिटर) मिक्सतर्फ फाइनल पुगेसँगै रजत पदक पक्का गरेको हो ।

त्यसैगरी, ५ वटा विभिन्न इभेण्टमा कास्य पदकको लागि नेपालले आज (आइतबार) प्रतिस्पर्धा गर्ने भएको छ । कम्पाउण्ड मिक्स टिममा नेपालले बंगलादेशसँग सामना गर्ने भएको हो । नेपालले श्रीलंकामाथि १४३– १३७ अंक हात पार्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

उक्त इभेण्टमा भुटान सहभागी नभएपछि बंगलादेश सिधै वाई पाएर फाइनलमा यात्रा बनाएको हो । नेपाली टिममा ईमायुङग् राई र शान्त मल्ल छन् । उता, श्रीलंकाको टिममा एन्थन पोला सेन्जेवा र थाक्सिला दमयन्ती थिए । त्यसैगरी, बंगलादेशका सुस्मिता बनिक र एमडी सोहिल राना कम्पाउण्ड मिक्स टिममा छन् । उक्त इभेण्टमा भुटान सहभागी नहुँदा श्रीलंकाले सहजै कास्य पदक हात पार्न सफल भयो ।

त्यसैगरी, नेपाल रिकर्भ पुरुषतर्फको इभेण्टमा कास्य पदकको लागि भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपाली टिममा तिलक पुनमगर, रोशन नगरकोटी र अशिम शेरचन छन् । उक्त बिधाको स्वर्ण पदकाको लागि बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ ।

बंगलादेशको टिममा विश्व कै नम्बर १० भित्र पर्ने तथा ओलम्पिकमा छनौट समेत भएका साना एमडी रुमन, इस्लिाम महमत तामीमुल र रुवेल मोहम्मद हकिम अहमत सहभागी छन् । श्रीलंकाको टिममा भने दल पटादु रभिन कभिसा, डे शिल्वा महमदाच्ची सजीभ र हेरथ पिया सेनागे सन्दुन कुमारा सहभागी छन् ।

रिकर्भ महिलातर्फको टिममा पनि नेपालले कास्य पदकको लागि भुटानबीच खेल हुनेछ । नेपालको टिममा ज्ञानु अवाले, मित्र राई र आयुसा तामाङ छन् । उता, भुटानको टिममा ओलम्पिकमा छनौट भएकी खेलाडी कर्मा, डेकी सुनाम र डेमा सोनाम छन् ।

उक्त बिधाको स्वर्ण पदकको लागि बंगलादेशका खातुन एमएसटी इटीवाई, मोनेरा महनाज अक्तर र रे ब्युटी छन् । श्रीलंकाको टिममा शिल्भा थिसारी मधुसिका, तयावल्ली रिहाना र वाक दुगे मल्सा दिल्हानी छन् ।

रिकर्भ मिक्स टिमतर्फ पनि नेपालले कास्य पदकको लागि प्रतिस्पर्धा गर्ने भएको हो । नेपाली टिममा आइषा तामाङ, रोशन नगरकोटी श्रीलंकाको तर्फबाट डे सिल्भा महमदाच्ची सजीव र तयावल्ली रिहाना छन् । उक्त बिधाको स्वर्ण पदकको लागि बंगलादेशका खातुन एमएस्टी इटीवाई, साना एमडी रुमनसँग भुटानका देमासोनाम र छिरिङ किन्लेबीच फाइनल खेलमा प्रतिपर्धा हुनेछ ।

त्यस्तै, कम्माउण्ड पुरुषतर्फको खेलमा नेपालले कास्य पदकको लागि श्रीलंकासँग सामना गर्नेछ । नेपालको टिममा मिनप्रसाद गौचन, सन्त मल्ल र योगेन्द्र शेरचन छन् । श्रीलंकाको टिममा अथन पोला संजीव वसन्तकुमार, पेरेरा कुरुकुला एराच्चिग्गे उदय आइएनडी र विरासिंघे कनिस्कार गाएन छन् ।

उक्त बिधाको स्वर्ण पदकको लागि बंगला देश र भुटानबीच खेल हुने भएको हो । बंगलादेशको टिममा असिकुज्जमान महमद, दास असिम कुमार र राना एमडी सोहेल छन् । भुटानको टिममा वाङग्डि फुन्टशो, दोर्जी ताण्डिङ र सेराव कर्मा छन् ।

त्यसैगरी, नेपालले कम्पाउण्ड महिलातर्फ कास्य पदक हात पार्न सफल भएको छ । उक्त इभेन्टमा भुटान सहभागी नभएपछि नेपालले सिधै वाई पाएर कास्य पदक हात पार्न सफल भएको हो । नेपालको टिममा मोनिका रानामगर, मन्जु बजगाई र इमायुङ राई छन् । उक्त बिधाको स्वर्ण पदकको लागि बंगलादेश र श्रीलंका भिड्ने भएका छन् ।

बंगलादेशको टिममा वानिक सुस्मिता, विश्वास सुमा र रे समोली छन । श्रीलंकाको टिममा करुनारत्ने अनुराधा, सालिका हर्सानी र थाक्सिला दमयान्ती छन् ।

एकल कम्पाउण्ड पुरुषतर्फ स्वर्ण पदकको लागि भुटानका दोर्जी ताण्दिन र बंगलादेशका राना एम डी सोहेलबीच प्रतिस्पर्धा हुने भएको छ । सोही ईभेन्टको महिलातर्फ श्रीलंकाका करुनारत्ने अनुराधाले स्वर्ण पदकको लागि बंगलादेशका विश्वास सुमासंग भिड्ने भएका हुन् ।

एकल पुरुष रिकर्भतर्फ स्वर्ण पदकको लागि बंगलादेशका साना एमडी रुमान र भुटानका छिरिङ किन्लेबीच फाइनल प्रतिस्पर्धा हुने भएको छ । सोही इभेन्टको महिलातर्फ बंगलादेशकी खातुन एमएसटीवाई र भुटानकी डेमा सोनामबीच फाइनल खेल हुनेछ ।