महिला क्रिकेटमा नेपाललाई कास्य

प्रतियोगिता अन्तर्गत आइतबार बंगलादेश र श्रीलंकाबीच स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ

जनसम्मत
मंसिर २२, २०७६, आइतबार

पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपालले कास्य पदक प्राप्त गरेको छ ।

पोखरा रंगशालामा शनिबार तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धामा माल्दिभ्समाथि १० विकेटको जित निकाल्दै नेपालले कास्य पदक प्राप्त गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको माल्दिम्सले ११.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८ रन जोडेको थियो । माल्दिभ्सको ब्याटिङमा ऐमा ऐसाथले १ रन जोडिन् । माल्दिभ्सका बाँकी सबै खेलाडी शून्यमै रनमै आउट भए । नेपालले अतिरिक्त ७ रन दिएको थियो ।

नेपालको तर्फबाट अञ्जली चन्दले ४ ओभरमा ३ मेडन सहित १ रन खर्चिएर ४ विकेट लिइन् । त्यस्तै, सीता रानामगर र रुबिना क्षत्रीले समान दुई÷दुई विकेट लिए । सुमन खतिवडा र करुणा भण्डारीले एक/एक विकेट बाँडे ।

जितका लागि ९ रनको लक्ष्य पछ्याएको नेपालले विना विकेट नोक्सानीमा १.१ ओभरमा जित हासिल गरेको हो । नेपालको व्याटिङमा रोमा थापाले अविजित ४ तथा काजोल श्रेष्ठले अविजित २ रन बनाए ।

खेलमा ४ विकेट लिन सफल नेपाली बलर अञ्जली चन्द ‘प्लेयर अफ द म्याच’ बनिन् । नेपाल लोकतान्त्रिक खेलकुद महसंघका अध्यक्ष देवेन्द्र शेरचनले पुरस्कार प्रदान गरे ।

जितपछि प्रतिक्रिया दिंदै नेपाली प्रशिक्षक जगतबहादुर टमटाले समग्रमा प्रतियोगिताभर नेपालले चित्त बुझ्दो प्रदर्शनी गरेको बताए । बंगलादेश, श्रीलंका जस्ता टेष्ट राष्ट्रहरुसँग समेत नेपालले बराबरीको प्रतिस्पर्धा गर्न सफल भएको उनले दावी गरे ।

यद्यपी, लक्ष्य स्वर्ण नै थियो, कास्य पदकमा चित्त बुझाएपनि खेलाडीहरु संयमित र अनुशासित पूर्वक खेल प्रदर्शन गरेकोमा खुशी व्यक्त गरे । माल्दिभ्सका कप्तान जुना मारियमले यही प्रतियोगिताबाट माल्दिभ्सले अन्तर्राष्ट्रिय डेब्यु गरेको बताउँदै आफूहरुका लागि यो राम्रो अनुभव भएको बताइन् । प्रतियोगिता अन्तर्गत आइतबार बंगलादेश र श्रीलंकाबीच स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।