आठौं राष्ट्रिय खेलकुदमा सहभागी गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनद्धारा विदाई (हेर्नुहोस, समाचार सहित ११ तस्वीर)

जनसम्मत
वैशाख १, २०७६, आइतबार

पोखरा । नेपालगन्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने गण्डकी प्रदेशका खेलाडीहरुलाई बिदाई गरिएको छ ।

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले एक कार्यक्रमबीच आइतबार पोखरा रंगशालबाट खेलाडीसहितको टिमहरुलाई विदाई गरेकी हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री पुनले गण्डकी प्रदेशका खेलाडीहरुलाई उच्च मनोबलका साथ आफ्नो प्रदर्शन गर्न आग्रह गरिन् । उनले सकारात्मक सोंचका साथ प्रतिस्पर्धामा उत्रिए सही प्रतिफल आउने बताइन् ।

मन्त्री पुनले गण्डकी प्रदेशका खेलाडीहरुलाई अनुशासनपूर्वक खेल प्रर्दशन गर्न आग्रह गरिन् ।मन्त्री पुनले आगामी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामै आयोजना गर्न गण्डकी प्रदेश सक्षम रहेको समेत दाबी गरिन् ।

मन्त्री पुनले गण्डकी प्रदेशको झण्डा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ र मार्चपास टोलीको झण्डा भलिबल खेलाडी मञ्जु गुरुङलाई हस्तान्तरण गरिन् । मन्त्री पुनले ओलम्पियन जितबहादुर केसी, डम्बर कुवंर, विमला रानामगर, मेनका रावत र भगवती केसीलाई ओलम्पिक टर्च हस्तान्तरण गरिन् । उक्त ओलम्पिक टर्च लाइटसहित खेलाडीहरुले पोखराको नगर परिक्रमा गरेको थियो ।

गण्डकी प्रदेशका सांसद दिपक कोइरालाले गण्डकी प्रदेशमा अन्तराष्ट्रियस्तरका खेलहरुको आयोजन ागर्न खेलकुदको पूर्वाधार आवश्यक रहेको औंल्याए ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सन्पन्न श्रेष्ठको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा राखेपका सदस्य राजेशकुमार गुरुङ र खेलकुदका विशेषज्ञ थगन पदाधिकारीहरुको सहभागिता थियो ।

गण्डकी प्रदेशबाट कुस्ती बाहेक ३४ खेलमा ५ सय ५८ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएको समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले जनाए । टोलीमा पुरुष ३ सय २ पुरुष र २ सय ५६ जना महिला खेलाडीहरुले यस प्रदेशबाट सहभागिता जनाउँदैछन् ।

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरामा ट्राथलन सम्पन्न भएको छ भने प्याराग्लाइडिङ पोखरामा नै हुने भएको छ । अन्य अधिकांश खेलहरु नेपालगन्जलगायत पश्चिमको शहरहरुमा हुनेछन् । केही खेलहरु केही दिन अघिदेखि नै संचालन भएको छ ।

मंगलबार पोखराबाट धेरै खेलका खेलाडीहरुसहितको टिम जाने तयारी गरेको जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले बताए । विभिन्न खेलमा गरी १ हजार ३ सय ७ वटा स्वर्ण पदकको लागि हुने प्रतिस्पर्धामा गण्डकी प्रदेशले कम्तिमा पनि २८ स्वर्ण पदक ल्याउने आशा गरेको अध्यक्ष श्रेष्ठले जनाए ।

श्रेष्ठको नेतृत्वमा टोली नेपालगन्ज जाने भएको हो । वैशाख ५ गते हुने उद्घाटन सत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी मन्जु गुरुङको नेतृत्वतमा मार्च पास हुने भएको हो ।