नेपाल पहिलो पटक साग ह्याण्डबलको फाइनलमा

भारत र पाकिस्तान पुरुषतर्फको फाइनलमा, एकदिन अगाडि नै फाइनल

नारायण शाही
मंसिर २२, २०७६, आइतबार

पोखरा । घरेलु भूमीमा आयोजना गरिएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को ह्याण्डबलमा नेपाल पहिलो पटक फाइनलमा पुगेको छ ।

पोखरा रंंगशालाको कभर्डहलमा शनिबार भएको महिलातर्फको दोस्रो प्रतिस्पर्धात्मक सेमिफाइनलमा पाकिस्तानमाथि २२–२१ को झिनो गोल अन्तरले नेपालको महिला टोली पहिलो पटक फाइनल पुगेको हो । नेपालले स्वर्ण पदकका लागि आइतबार भारतसँग फाइनल खेल्नेछ ।

खेल शुरु भएको छैटौं मिनेटसम्म नेपाल पाकिस्तानसँग ०–३ ले गोलविहीन अवस्थामा थियो । सातौं मिनेटमा शान्तिकला राईले गोलको खाता खोलिन् । लगत्तै बन्दना राईले गोल गर्दै पाकिस्तानसँग २–३ को गोल अन्तर कम पारिन् ।

पहिलो हाफमा पाकिस्तानसँग ११–८ ले पछि परेको नेपालले खेलको ५३ औं मिनेटमा मात्र २०/२० को बराबरी गरेको थियो । ५४ औं मिनेटमा नेपालले २१–२० ले अग्रता बनाएको थियो । ५६ औं मिनेटमा पाकिस्तानले नेपालसँग २१–२१ को बराबरी गर्न सक्यो । ५८ औं मिनेटमा नेपालले बनाएको २२/२१ को अग्रता नै नेपालको लागि निर्णायक बन्यो ।

नेपालका लागि उमा राईले सर्वाधिक ११ गोलको योगदान दिइन् । शान्तिकला राईले ४ गोल थपिन् । कविता राई र निषा राईले समान २÷२ गोलको योगदान गरे । बन्दना राई, रञ्जना राई र रामकुमारी चौधरीले समान १/१ गोल मात्र जोडे । पाकिस्तानका लागि आस्मा आत्लाफले सर्वाधिक ६ गोल गरिन् ।

यता, शनिबार नै भएको महिला ह्याण्डबलको पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई ४१–१३ गोलले हराउँदै फाइनल पुगेको हो ।
भारतका लागि शान्थिया कुमारले सर्वाधिक ७ गोल गरिन् । बंगलादेशका लागि मोसम्मत सिफा, फाल्गुनी विश्वास, रुबी बेगम र खालेदा सुल्तानाले सर्वाधिक समान २/२ गोल गरे ।

यसअघि, बंगलादेशको ढाकामा भएको ११ औं संस्करणदेखि दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा ह्याण्डबल खेललाई समावेश गरिएको थियो । त्यस संस्करणमा पुरुष टिमहरुले मात्र प्रतिस्पर्धा गरेको थियो । सागको १२ औं संस्करणबाट मात्रै माहिला ह्याण्डबलले प्रवेश पाएको हो ।

त्यतिबेला नेपालले सेमिफाइनल मात्रै खेलेको थियो । सेमिफाइनलमा नेपालको महिला टोलीले बंगलादेशसँग हारेको थियो । तेस्रो स्थानको लागि भएको खेलमा पनि नेपाल पाकिस्तानसँग हार्दै पदकविहीन बनेको थियो । यसपालि भने नेपाल कम्तिमा पनि रजत पदकको नजिक पुगेको छ ।

घरेलु भूमी गुहावटीमा भएको १२ औं सागमा विजेता बन्दै भारतले स्वर्ण पदक जितेको थियो । त्यस्तै, उपविजेता बन्दै बंगलादेशले रजत पदक जितेको थियो । पाकिस्तान कास्य पदकमा सीमित बनेको थियो ।

भारत र पाकिस्तान पुरुषतर्फको फाइनलमा

साग गेमको पुरुष ह्याण्डबलतर्फ भने भारत र पाकिस्तान फाइनलमा पुगेको छ । पोखरा रंगशालाको कभर्ड हलभित्र भएको पहिलो सेमिफाइनल खेलमा भारतले श्रीलंकालाई ३९–३२ गोलले हराउँदै फाइनल यात्रा गरेको हो ।

पुरुषतर्फको दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानले बंगलादेशलाई २७–१७ ले हराउँदै भारतसँगको फाइनल पक्का गरेको हो ।
भारतका लागि अंकितले सर्वाधिक ११ गोल गरे । श्रीलंकाका लागि प्रभाथ माडुसले सर्वाधिक ९ गोल गरे ।

पाकिस्तान र बंगलादेशबीचको शुरुवाती खेल प्रतिस्पर्धात्मक बन्यो । पहिलो हाफमा पाकिस्तानले बंगलादेशमाथि १२–७ गोल गरेको थियो । पाकिस्तानका लागि मुहम्मद उजिर आतिफले सर्वाधिक ७ गोल गरे । बंगलादेशका लागि मेहेदी हसनले सर्वाधिक ५ गोल गरे ।

बंगलादेशको ढाकामा भएको साग खेलकुदको ११ औं संस्करणदेखि पुरुष ह्याण्डबल खेलले प्रवेश पाएको हो । त्यस संस्करणको पाकिस्तान विजेता बन्दै स्वर्ण पदक र भारत उपविजेता बन्दै रजत पदक जितेको थियो । भारतकै गुहावटीमा भएको १२ औं संस्करणको साग खेलकुदमा आयोजक भारत विजेता बन्दै स्वर्ण पदक र पाकिस्तान उपविजेता बन्दै रजत पदक जितेको थियो ।

१२ औं संस्करणको सागमा नेपालले सेमिफाइनलसम्म खेलेको थियो । सेमिफाइनलमा नेपालको पुरुष टिम भारतसँग हारेको थियो । कास्य पदकका लागि भएको खेलमा समेत नेपालको पुरुष ह्याण्डबल टोली बंगलादेशसँग हार्दै पदकविहीन बनेको थियो । घरेलु भूमीमै भएको १३ सागमा नेपाली पुरुष टोली समूह चरणबाटै बाहिरिएको छ ।

एकदिन अगाडि नै फाइनल

 

खेल तालिकामा डिसेम्बरको २३ तारिखमा ह्याण्डबल खेल सकिने उल्लेख भएपनि एक दिन अगाडी नै खेल सकिने भएको छ । आइतबार खेलाडीलाई विश्राम दिएर महिला, पुरुष दुबैतर्फको फाइनल खेल सोमबार हुने भनिएपनि आइतबार नै खेल हुने भएको हो ।

नेपाल ह्याण्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङल ह्याण्डबल खेल संचालनका लागि नेपाल आएका अफिसियल तथा रेफ्रीहरुको जहाज टिकटका लागि कारण एक दिन अगाडी नै ह्याण्डबल खेल सक्नुपरेकोे खुलाए ।

सेफ दि मिसन पोखरा तथा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष समेत रहेका गुरुङले ह्याण्डबलको फाइनल र तेस्रो स्थानका लागि खेल्ने खेलाडीहरुलाई एक दिन बिश्राम दिने यसअघिको खेल तालिकामा उल्लेख भएपनि प्राविधिक कारण खेल अवधिलाई एक दिन छोंट्याउनु परेको बताए ।

डिसेम्बरको १० तारिखमा अफिसियल तथा रेफ्रीहरुको जहाजको टिकट रहेकोले उनीहरुलाई एक दिन अगावै विदाई गर्नुपरेको गुरुङले उल्लेख गरे ।