आर्चरीमा नेपाललाई १ रजत सहित ३ पदक

बंगलादेशलाई ६ स्वर्ण पदक

जनसम्मत
मंसिर २२, २०७६, आइतबार

पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा जारी आर्चरी खेलमा नेपालले एक रजत सहित तीन पदक प्राप्त गर्न सफल भएको छ । नेपालले कम्पाउण्ड (५० मिटर) मिक्सतर्फ रजत पदक प्राप्त गरेको हो ।

आइतबार भएको फाइनल खेलमा बंगलादेशले नेपाललाई ८ अंकको अन्तरले पराजित गर्दा नेपाल रजत पदकमा सीमित भएको हो । नेपालले फाइनल खेलमा १ सय ४० अंक ल्याउदा बंगलादेशले १ सय ४८ अंक ल्याउन सफल भएको हो ।

नेपाली टिममा इमायुङग् राई र शान्त मल्ल रहेका थिए भने बंगलादेशका सुस्मिता बनिक र एमडी सोहिल राना सहभागी थिए । उक्त इभेण्टमा श्रीलंकाले कांस्य पदक हात पार्न सफल भएको छ ।

१० वटा स्वर्ण पदकको लागि जारी उक्त प्रतिस्पर्धामा आइतबारसम्म ६ वटा स्वर्ण पदकको छिनोफानो लाग्दा ६ वटा स्वर्ण पदकमाथि बंगलादेशले एकतर्फी बर्चस्व जमाउन सफल भएको छ । बंगलादेशले कम्पाउण्ड महिला तथा पुरुष, रिकर्भ महिला तथा पुरुष र रिकर्भ मिक्सतर्फ स्वर्ण पदक हात पार्न सफल भएको हो ।

त्यस्तै, कम्माउण्ड पुरुषतर्फ नेपालले कांस्य पदक हात पार्न सफल भएको छ । नेपालले कास्य पदकको लागि आइतबार भएको खेलमा श्रीलंकालाई १ अंकको अन्तरले पराजित गर्दै कांस्य पदक हात पार्न सफल भएको हो । नेपालले २ सय ८ अंक ल्याएको थियो भने श्रीलंकाले २ सय ७ अंक ल्याएको थियो । नेपालको टिममा मिनप्रसाद गौचन, सन्त मल्ल र योगेन्द्र शेरचन थिए ।

श्रीलंकाको टिममा अथन पोला सञ्जीव वसन्तकुमार, पेरेरा कुरुकुला एराच्चिङगे उदय आइएनडी र विरासिंघे कनिस्कार गाएन थिए । उक्त बिधाको स्वर्ण पदकको लागि बंगलादेशले भुटानलाई पराजित गर्दै स्वर्ण पदक जितेको हो । विजेताले २ सय २५ अंक ल्याउदा उपविजेताले भने २ सय १४ अंक ल्याएको थियो । बंगलादेशको टिममा असिकुज्जमान महमद, दास असिमकुमार र राना एमडी सोहेल थिए । भुटानको टिममा वाङगडी फुन्टशो, दोर्जी ताण्डिङ र सेराव कर्मा थिए ।

कम्पाउण्ड महिलातर्फको खेलमा नेपालले सिधै वाई पाएर कांस्य पदक प्राप्त गर्न सफल भएको हो । यस इभेण्टमा भुटान सहभागी नभएसँगै नेपाललाई सहज कांस्य पदक प्राप्त भएको हो । नेपालको टिममा मोनिका रानामगर, मन्जु बजगाई र इमायुङ राई थिए ।
उक्त बिधामा बंगलादेशले श्रीलंकालाई पराजित गर्दै स्वर्ण जितेको हो । बंगलादेशको टिममा वानिक सुस्मिता, विश्वास सुमा र रे समोली थिए । श्रीलंकाको टिममा करुनारत्ने अनुराधा, सालिका हर्सानी र थाक्सिला दमयान्थी थिए ।

त्यसैगरी, कांस्य पदकको लागि नेपाल रिकर्भ पुरुषतर्फको इभेण्टमा भुटानसँग समान अंक भएपनि नेरेस्ट द प्वाइटका आधारमा नेपाल पराजित बनेको छ । नेपाल र भुटानको समान २८ अंक थियो । नेपाली टिममा तिलक पुनमगर, रोशन नगरकोटी र अशिम शेरचन छन् । उक्त बिधामा बंगलादेशले श्रीलंकालाई पराजित गर्दै स्वर्ण हात पार्न सफल भएको हो ।

रिकर्भ महिलातर्फको खेलमा पनि नेपालले कास्य पदकको लागि भुटानसँग भएको खेलमा २ अंकले पराजित बन्यो । नेपालको टिममा ज्ञानु अवाले, मित्र राई र आयुषा तामाङ थिए । भुटानको टिममा ओलम्पिकमा छनौट भएकी खेलाडी कर्मा, डेकी सुनाम र डेमा सोनाम थिए । उक्त बिधामा पनि बंगलादेशले श्रीलंकालाई पराजित गर्दै स्वर्ण हात पारेको छ ।

बंगलादेशको टिममा खातुन एमएसटी इटिवाई, मोनेरा महनाज अक्तर र रे व्युटी थिए भने श्रीलंकाको टिममा शिल्भा थिसारी मधुसिका, तयावल्ली रिहाना र वाक दुगे मल्सा दिल्हानी थिए ।

रिकर्भ मिक्स टिममा समेत नेपालले कांस्य पदक प्राप्त गर्न चुक्यो । कांस्य पदकको लागि आइतबार भएको खेलमा श्रीलंकाले नेपाललाई पराजित गरेको हो । नेपाली टिममा आइषा तामाङ, रोशन नगरकोटी, श्रीलंकाको तर्फबाट डे सिल्भा महमदाच्ची सजिव र तयावल्ली रिहाना थिए ।

उक्त बिधामा समेत बंगलादेशले भुटानमाथि जित हात पार्दै स्वर्ण पदक हात पारेको छ । बंगलादेशको टिममा खातुन एमएस्टी इटीवाई र साना एमडी रुमन सहभागी थिए । भुटानको टिममा देमासोनाम र छिरिङ किन्ले थिए ।

नेपाल सहित ४ देश सहभागी भएको खेलमा आज (सोमबार) एकल महिला तथा पुरुषको रिकर्भ र कम्पाउण्ड गरी ४ वटा स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुने भएको नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङले जानकारी दिएका छन् ।