यस संस्करणको साग महिला फुटबलमा पनि नेपाल रजतमै समेटियो

महिला फुटबलको प्रशिक्षकबाट हरि खड्काको राजीनामा, नेपाली महिला फुटबल टिमकी कप्तान निरु थापा र मनमाया लिम्बुलाई सम्मान

नारायण शाही
मंसिर २४, २०७६, मंगलवार

पोखरा । घरेलु भुमीको पोखरामा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपाल फेरि रजत पदकमै समेटिएको छ ।

पोखराको फुटबल स्टेडियममा घरेलु दर्शकलाई साक्षी राखेर पहिलो स्वर्ण चुम्ने लक्ष्यमा रहेको नेपाल यस संस्करणको साग गेममा पनि भारतसँग स्तब्ध बन्यो ।

पोखराको नवनिर्मित फुटबल स्टेडियममा सोमबार भएको फाइनलमा भारतसँग २–० ले हार्दै नेपाल रजतमै समेटिएको हो । दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलको फाइनलमा नेपाल लगातार तेस्रो पटक भारतसँग स्तब्ध बनेको हो ।

विजेता भारतले भने स्वर्ण हात पारेको छ । यस संस्करणको साग महिला फुटबलमा बालादेवीले भारतलाई स्वर्ण दिलाइन् । भारतका बालादेवी एक्लैले फाइनलमा दुई गोल गरिन् । प्राप्त अवसरलाई बालादेवीले रामै्रसँग सदुपयोग गरिन् ।

प्रतिस्पर्धात्मक खेलमा भारतका लागि बालादेवीले खेलको १८ र ५५ औं मिनेटमा गोल गर्न सफल भइन् । बालादेवीले पहिलो गोल नेपालकी कीपर एञ्जिला तुम्बाप्पो सुब्बा बिट भएको अवस्थामा वान टचमा गोल गरेकी थिइन् । बालादेवीले दोस्रो गोल भने डीबक्सभित्रैबाट हानेकी थिइन् ।

नेपाली डिफेन्डरहरु अमृता जैसी, हिराकुमारी भुजेल, गिता राना र पुनम जर्घामगरले बालादेवीलाई रोक्नै सकेनन् । यता, नेपालकी स्टार ‘साम्बा’ भने खेल अवधिभर भारतीय डिफेन्डरहरुको मार्कमा रहिन् ।

कमजोर फिनिसिङका कारण यस पटक पनि नेपालले भारतसँग बदला लिने अवसर गुमायो । नेपालले गोल गर्ने केही अवसर पाएपनि सदुपयोग गर्न सकेन । पोखराको फुटबल स्टेडियममा भरिएको नेपाली फुटबल फ्यानहरुको हुटिङका बाबजुद पनि नेपाली टिमले भारतलाई नतिजा सुम्प्यो । हरेक पोजिसनमा भारतीय खेलाडीहरुलाई खुलेर खेल्न दिनु नै नेपाली टोलीको कमजोरी रह्यो ।

आठौं मिनेटमा सावित्रा भण्डारी ‘साम्बा’ को प्रहारलाई भारतीय कीपर अदिती चौहानले बचाउ गरिन् । ४८ औं मिनेटमै ‘साम्बा’ को प्रहारलाई अदितीले पञ्च सेभ गरेर बचाइन् । ७२ औं मिनेटमा ‘साम्बा’ कै कडा प्रहारको बल क्रसबार हुँदै बाहिरियो ।

खेलको ३३ औं मिनेटमा भारतकी रत्नाबालादेवीले करिब ३० यार्ड टाढबाट सिधा पोष्टमा प्रहार गरेको लङबललाई नेपाली डिफेन्डर अमृता जैसीले गोललाइनबाट बचाइन् ।

नेपालका प्रशिक्षक हरि खड्काले कमजोर फिनिसिङ र स्ट्राइकिङका कारण नेपालले खेल गुमाउनुपरेको प्रतिक्रिया दिए । ‘नेपाली टोलीमा पाएको अवसरलाई सदुपयोग गर्न सक्ने खेलाडीको अभाव रह्यो,’ खेलपछिको पोष्ट म्याच कन्फरेन्समा प्रशिक्षक खड्काले भने ।

भारतीय प्रशिक्षक मेमोल रक्कीले भने नेपालकै घरेलु मैदानमा स्वर्र्ण जित्नु ठूलो कुरा रहेको प्रतिक्रिया दिइन । रक्कीले भनिन, ‘नेपाली टिमको प्रदर्शनलाई सम्मान छ, नेपालको टिम राम्रो लयमा छ । यसअघिको तुलनामा नेपालले गोल अन्तर घटाउँदै लगेको छ ।’

राउण्ड रोबिन लिगका आधारमा शीर्ष दुई टिम फाइनल चरण प्रवेश गरेका थिए । दक्षिण एसियाली महिला फुटबलमा नेपालको लागि सधैं भारत बाधक बन्दै आएको छ । लिग चरणको खेलमा समेत भारतले नेपाललाई १–० को रोचक जित निकालेको थियो ।

फुटबलको कास्य पदक माल्दिभ्सले जितेको छ । शनिबार भएको खेलमा माल्दिभ्सले श्रीलंकालाई २–१ ले हराउँदै कास्य जितेको हो । महिला फुटबलमा नेपाल, भारत, माल्दिभ्स र श्रीलंका गरी चार देशको सहभागिता थियो । नेपालले लिग चरणको पहिलो खेलमा श्रीलंकालाई ६–० ले हराएको थियो । दोस्रो खेलमा माल्दिभ्सलाई ३–० ले हराएको थियो ।

यसअघि, जायन्ट नेपाल–भारतको फुटबलमा भेट यस्तो थियो

 

सन् २०१० मा बंगलादेशको ढाकामा भएको ११ औं सागमा पहिलोपल्ट नेपालको महिला फुटबल टोलीले सहभागिता जनाएको थियो । त्यस संस्करणको सागमा नेपाली टोलीले फाइनलयात्रा तय गरेको थियो । उपाधि भिडन्तमा नेपाली टोली भारतसँग ३–१ ले स्तब्ध बन्यो । पाँच टोली सहभागी प्रतियोगिताको समूहगत चरणमा नेपालले दोस्रो स्थानमा रहँदै फाइनलयात्रा निश्चित गरेको थियो । समूहगत चरणमा भारतसँग पराजित भएको नेपाल फाइनलमा पनि उसैसँग पराजित हुँदै रजत पदकमै सीमित बनेको थियो ।

सन् २०१६ मा भारतकै गुहावटीमा भएको साग खेलकुदमा नेपाल दोस्रोपटक फाइनलमा पुग्यो । यसपटक पनि नेपाल भारतसँग नै ४–० को भारी गोल अन्तरले हार्दै रजत पदकमै समेटिन पुग्यो ।

दक्षिण एसियाली खेलकुद (साग) बाहेक महिला फुटबलमा नेपाल–भारत ५ पटक आमने–सामने भएका छन् । पाँच पटकको भेटमा नेपालका लागि भारत बाधक बनेको छ । नेपालले भने भारतलाई खेलमा मात्रै पराजित गरेको छ ।

सन् २०१० मै नेपाली महिला टोलीले दक्षिण एसियाको प्रतिष्ठित फुटबल प्रतियोगिता साफ महिला च्याम्पियनसीपमा सहभागिता जनायो । बंगलादेशको कक्सबजारमा भएको फाइनल खेलमा नेपालका लागि भारत नै बाधक बन्यो । उपाधिका लागि फाइनल भिडेको नेपाल भारतसँग नै १–० गोलले स्तब्ध बन्यो ।

नेपाली महिला टोली सन् २०१२ मा भएको साफ च्याम्पियनसीपको दोस्रो संस्करणमा पनि फाइनलमा पुग्यो । श्रीलंकामा भएको यस प्रतियोगिताको फाइनलमा फेरि नेपालको भेट भारतसँग नै भयो । त्यतिबेला पनि उपाधि भिडन्तमा भारतसँग नेपालले ३–१ ले हार ब्यहो¥यो । सुरुवाती अग्रता बनाएर पनि नेपालले त्यस खेलमा पराजय बेहोरेको थियो ।

सन् २०१४ मा पाकिस्तानमा भएको महिला साफ च्याम्पियनसीपमा नेपालले लगातार तेस्रोपटक फाइनलमा स्थान सुरक्षित गरेको थियो । अघिल्ला दुई संस्करणमा लगातार पराजय बेहोरेको नेपालसामु फाइनलमा फेरि पनि भारत नै प्रतिद्वन्द्वी थियो ।

उक्त खेलमा पनि नेपालसामु भारत नै बाधक बन्यो । भारतले नेपाललाई ६–० को भारी गोल अन्तरले हरायो । सन् २०१४ को तेस्रो साफ च्याम्पियनसीपमा भारतविरुद्ध व्यहोरेको ६–० को नतिजा नै अहिलेसम्मको फराकिलो हार हो ।

भारतले आयोजना गरेको हिरो गोल्डकपमा नेपालले सहभागिता जनायो । हिरो गोल्डकपमा भने भारतलाई उसकै मैदानमा पराजित गर्दै नेपालले फाइनलमा स्थान सुरक्षित ग¥यो । नेपालले आफ्नो प्राप्त गरेको महत्वपूर्ण यस उपलब्धिलाई फाइनलमा भने निरन्तरता दिन सकेन ।

समूहगत चरणको खेलमा भारतलाई २–१ गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको नेपाल उपाधि भिडन्तमा म्यानमारसँग ३–१ ले पराजित भयो ।

घरेलु बिराटनगरमा भएको चौथो संस्करणको साफ महिला च्याम्पियनसीपको फाइनलमा नेपालले स्थान बनायो  । यस प्रतियोगितामा नेपाललाई उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको थियो । उक्त फाइनलमा पनि नेपाल फाइनलमा भारतसँगै ३–१ ले स्तब्ध बन्यो ।

महिला फुटबलको प्रशिक्षकबाट हरि खड्काको राजीनामा

 

महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले समेत राजीनामाको घोषणा गरेका छन् । प्रशिक्षक हरि खड्काले नेपालको महिला फुटबल टिम सम्हालेपछि भारतसँग यो तेस्रो हार हो । यसै संस्करणको राउण्ड रोबिनको खेलमा पनि नेपाल भारतसँग १–० ले हारेको थियो । प्रशिक्षक खड्काले टिम सम्हालेपछि शनिबारको खेलसँगै नेपालले भारतसँग चारपल्ट खेल्यो । दुईमा नेपाल पराजित बन्यो । एकमा भारतलाई हरायो र एकमा बराबरी खेल्यो ।

भारतमा भएको हिरो महिला गोल्डकपमा भारतलाई २–१ ले हराउँदै नेपाल फाइनल पुगेर म्यान्मारसँग पराजित बनेको थियो । त्यसअघि, म्यानमारमा भएको ओलम्पिक छनोटमा नेपालले भारतसँग १–१ को बराबरी खेल्यो । गत साफ च्याम्पियनसीपमा घरेलु मैदानमै भारतसँग नेपालले पराजय ब्यहोरेको थियो ।

 

निरु र मनमायालाई सम्मान

 

नेपाली महिला फुटबल टिमकी कप्तान निरु थापा र मनमाया लिम्बुलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले सम्मान ग¥यो । नेपालको फुटबलमा योगदान गरेको भन्दै गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, कानुनमन्त्री हरिबहादुर चुमान र सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले निरु र मनमायालाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरेको हो । सम्मानीत हुँदै गर्दा निरु र मनमायाले हर्षको आँशु झारेका थिए ।

त्यस्तै, मदन भण्डारी फाउण्डेशनद्वारा निरु थापालाई आधा तोला सुन र चार तोला चाँदी जडित ट्रफी प्रदान ग¥यो । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री एवं १३ औं साग पोखराका स्थानीय ब्यवस्थापन तथा सहजीकरण समितिका संयोजक नरदेवी पुनले निरुलाई ट्रफी प्रदान गरेकी हुन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य तथा मदन भण्डारी फाउण्डेशनका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संयोजक राजेशकुमार गुरुङले मनमाया लिम्बुलाई समेत फाउण्डेशनको तर्फबाट आधि तोला सुन र चार तोला चाँदी जडित ट्रफी प्रदान गर्ने घोषणा गरे ।

यसअघि, घरेलु मैदान पोखराको फुटबल स्टेडियममा साग महिला फुटबलको फाइनलमा भारतसँग २–० ले पराजित भएसंँगै निरु र मनमायाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । उनीहरुले घरेलु लिग खेल्ने गरी अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका हुन् ।

तस्वीर : दुर्गाप्रसाद पौडेल