१३ औं संस्करणको (साग) पोखराको सुखद् समापन

साग पोखराको समापनमा महिला फुटबलको फाइनलिस्ट भारत र नेपालको राष्ट्रिय गान गाइएको थियो, साग पोखराको समापनसँगै पोखरा स्टेडियममा आतसबाजी गरिएको थियो

नारायण शाही
मंसिर २४, २०७६, मंगलवार

पोखरा । घरेलु भुमीमै भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पोखराको पनि महिला फुटबलको फाइनसँगै सोमबार सुखद् समापन गरिएको छ ।

साग पोखराको समापनमा महिला फुटबलको फाइनलिस्ट भारत र नेपालको राष्ट्रिय गान गाइएको थियो । साग पोखराको समापनसँगै पोखरा स्टेडियममा आतसबाजी गरिएको थियो ।

साग अन्तर्गत ८ वटा खेलले स्पोर्ट्स भेन्यु पाएको पोखराको फुटबल स्टेडियमबाट खेलकुदमन्त्री जगतबहादुर बिश्वकर्मा (सुनार) ले ऐतिहासिक १३ औं संस्करणको पोखरा साग गेम भब्य र सफलताका साथ सम्पन्न भएको घोषणा गरे ।

साग गेमलाई सफल बनाउन भुमिका खेल्ने खेलाडी, खेल संघसंस्था, पदाधिकारी, अफिसियल र आम पोखरेलीलाई मन्त्री बिश्वकर्माले धन्यवाद दिए ।

पोखरामा साग गेम अन्तर्गत महिला फुटबल, महिला क्रिकेट, महिला तथा पुरुषकै ह्याण्डबल, बिच भलिबल, ब्याडमिन्टन, आर्चरी, भारोत्तोलन र ट्रायथलन खेल भएको थियो ।