१९९९ पछि सागको बक्सिङमा भुपेन्द्रले स्वर्ण दिलाए

पुरुषतर्फको ६४ केजी लाइटवेटमा भुपेन्द्रले स्वर्ण पदक जितेका हुन्

नारायण शाही
मंसिर २४, २०७६, मंगलवार

पोखरा । १३ औं साग बक्सिङमा भुपेन्द्र थापाले थपे नेपाललाई अर्को स्वर्ण दिलाएका छन् ।

नेपाली बक्सिङमा लामो समय गुमेको शाखलाई फर्काउँदै भुपेन्द्रले बक्सिङमा नेपाललाई एकपछि अर्को स्वर्ण सफलता दिलाउन सफल भए । पुरुषतर्फको ६४ केजी लाइटवेटमा भुपेन्द्रले स्वर्ण पदक जितेका हुन् ।

सोमबार विहान मिनु गुरुङले महिलाहरुको ५४ केजी तौल समूहमा स्वर्ण दिलासँगै भुपेन्द्रले पनि नेपालका लागि स्वर्ण थपे । थापाले फाइनलमा भारतका मनिश कौशिकलाई अंकका आधारमा पराजित गरेका हुन् ।

सागमा पहिलो स्वर्ण जितेका भुपेन्द्रले १९९९ पछि नेपाललाई पुरुषतर्फ पहिलो स्वर्ण पदक दिलाउन सफल भए । थापाले फाइनलमा हराएका भारतका कौशिक सन २०१८ मा भएको राष्ट्रमण्डलीय खेलकुदमा रजत पदक जित्न सफल बक्सर हुन् ।

यता, ललिता महर्जनले नेपालका लागि बक्सिङमा एक रजत पदक दिलाएकी छिन् । महिलाको ४८ केजीको लाइट फ्लाइ वेटमा ललिता फाइनलमा भारतकी क्लाईभानी श्रीभासनसँग अंकका आधारमा पराजित बनिन् ।

यसैगरी, संगीता सुनारले पनि महिला बक्सिङमा रजत पदक जितेकी छन् । सोमबार भएको ६० केजी तौल समूहको खेलमा संगीता भारतीय खेलाडी परविनसँग अंकको आधारमा पराजित बनेकी हुन् । यसअघि, श्रीलंकाकी केशानी हंसिका कस्तुरीलाई अंककै आधारमा हराउँदंै संगीता अन्तिम फाइलनलमा पुगेकी थिइन् ।