पदकधारी नेपाली खेलाडीलाई सरकारको विशेष पुरस्कार

प्रधानमन्त्री केपी शर्मा ओलीले सागमाप्रधानमन्त्री केपी शर्मा ओलीले सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई ९/९ लाख, रजत पदक विजेतालाई ६ लाख र कांस्य पदक विजेतालाई ३ लाख दिने घोषणा गरेको हो

जनसम्मत
मंसिर २५, २०७६, बुधबार

पोखरा । १३ औं दक्षिण एसिायली खेलकुद (साग)मा पदक जित्ने खेलाडीलाई सरकारले पुरस्कार दिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई ९/९ लाख दिने घोषणा गरेका छन् । टिम इभेन्टमा जित्नेलाई कति दिने खुलाइएको सोबारे भने उल्लेख गरिएको छैन । फुटबल, कराँते, तेक्वान्दोमा नेपालले टिम इभेन्टमा स्वर्ण जितेको थियो ।

यस्तै, बास्केटबल, कबड्डी, भलिबल लगायतका टिम इभेन्टमा नेपालले रजत पदक जितेको छ । क्रिकेटको टिम इभेन्ट लगायतमा नेपालले कांस्य जितेको छ । टिम इभेन्टमा पदक जित्नेहरुले कुन आधारमा पुरस्कार पाउँछन भन्ने अन्योलमा खेलाडी रहेका छन ।

त्यस्तै रजत पदक विजेतालाई ६ लाख र कांस्य पदक विजेतालाई ३ लाख दिने घोषणा गरेको हो । बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बधाई दिन बोलाएका प्रधानमन्त्री ओलीले विशेष पुरस्कारको घोषणा गरेका हुन् ।

नेपालको आयोजनामा भएको साग प्रतियोगिता मंगलबार समापन भएको हो । मंगलबार साँझ दशरथ रंगशालामा आयोजित विशेष समारोहबीच १३ औँ सागको सुखद समापन गरिएको थियो ।

समापन समारोहमा भिडियो सन्देश पठाएका प्रधानमन्त्री ओलीले बालुवाटारमै बोलाएर विजेता खेलाडीलाई बधाईसँगै विशेष रकमको घोषणा गरेका हुन् । यस संस्करणको साग खेलकुदमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य गरि २ सय ६ वटा पदक जितेको थियो ।
अघिल्लो सागमा भने सरकारले स्वर्ण विजेतालाई ५ लाख, रजतलाई ३ र कांस्यलाई २ लाख प्रदान गरेको थियो ।

१३ औं सागमा पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेसँगै सागमा नेपालका लागि सर्वाधिक स्वर्ण जित्ने गौरिका सिंहले पुरस्कार पनि सबभन्दा धेरै पाउने भएकी छन् ।

बुधबार बालुवाटारमा प्रधानमन्त्रीले गरेको घोषणामा सागमा दुई वा दुईभन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख पुरस्कार दिने घोषणा गरे । यस हिसाबले सागमा ४ स्वर्ण जित्ने गौरिका सिंहले ४४ लाख पाउने छिन् । त्यसैगरि, रजत जित्नेलाई ६ लाख घोषणा गरिएअनुसार २ रजत जितेकी गौरिकाले थप १२ लाख पाउनेछिन् ।

सागका पदकधारी खेलाडीलाई नगर परिक्रमा गराइने भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शुक्रबार पदक विजेता खेलाडीलाई काठमाडौं र ललितपुरको विभिन्न स्थानमा नगर परिक्रमा गराउने जनाएको छ । नगर परिक्रमाको रुट भने तोकिएको छैन ।

 

राष्ट्रपति भण्डारीद्वारा बधाई

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाललाई स्वर्णसहित विभिन्न पदक दिलाएका नेपाली खेलाडीलाई हार्दिक बधाई ज्ञापन गरेकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार ट्वीटमार्फ प्रतियोगितामा सहभागी सबै राष्ट्रका खेलाडी तथा खेल पदाधिकारीमा आभार व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले सागको सफल आयोजनाका निम्ति युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद, नेपाल ओलम्पिक कमिटी, प्रशिक्षक, निर्णायकलगायत सम्बद्ध सबैलाई धन्यवाद दिएकी छन् ।

राष्ट्रपतिले उक्त प्रतियोगिताबाट दक्षिण एशियाली मुलुक र जनताबीचको सम्बन्ध थप प्रगाढ भएको महसुस आफूले गरेको बताएकी छन् ।