पीपीएलको उद्घाटनमा पोखरा पल्टन्स–काठमाडौं गोल्डेन्स

आसन्न पोखरा प्रिमियर लिगका लागि चितवन राइनोजले राष्ट्रिय क्रिकेट टिमका सहायक प्रशिक्षक मनोज कटुवाललाई प्रशिक्षकका रुपमा अनुबन्ध गरेको छ

जनसम्मत
मंसिर २५, २०७६, बुधबार

पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) सकिएलगत्तै पोखराको क्रिकेट मैदानमा दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुँदैछ ।

यही मंसिरको २८ देखि १२ पुससम्म हुने प्रतियोगिताको उद्घाटन खेलमा पोखरा पल्टन्स र काठमाडौं गोल्डेन्सले प्रतिष्पर्धा गर्नेछन् ।

यस्तै, दोस्रो दिन पहिलो खेलमा विराटनगर टाइटन्स र धनगढी ब्लुज तथा अर्को खेलमा काठमाडौं गोल्डेन्स र बुटवल ब्लास्टर्स आमनेसामने हुनेछन् । तेस्रो दिन पहिलो खेलमा पोखरा पल्टन र चितवन राइनोज खेल्नेछन् ।

चौथो दिन काठमाडौं गोल्डेन्स र धनगढी ब्लुज तथा अर्को खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिष्पर्धा हुने आयोजकले सार्वजनिक गरेको खेलतालिकामा उल्लेख छ । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले अघिल्लो संस्करणझैं सफलतापूर्वक प्रतियोगिता सम्पन्न हुने विश्वास गरेको छ ।

घरेलु फ्रेन्चाइज लिग पीपीएलमा ६ शहरका ६ टोलीको सहभागिता रहनेछ । गत वर्ष पहिलो संस्करणमा चितवन राइनोजलाई हराउँदै घरेलु पोखरा पल्टनले उपाधि जितेको थियो । पीपीए प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुग्ने विश्वास आयोजकको छ ।

टिममा नेपाली राष्ट्रिय टोलीका खेलाडीहरुसँगै विदेशी खेलाडीहरु पनि सहभागी हुनेछन् ।

प्रतियोगिताको ट्रफी शुक्रबार सार्वजनिक गरिने आयोजकले जनाएको छ । गत वर्ष ९ देखि २० कात्तिकसम्म पीपीएलको खेल भएको थियो ।

पीपीएलका लागि चितवन राइनोजमा मनोज

आसन्न पोखरा प्रिमियर लिगका लागि चितवन राइनोजले राष्ट्रिय क्रिकेट टिमका सहायक प्रशिक्षक मनोज कटुवाललाई प्रशिक्षकका रुपमा अनुबन्ध गरेको छ । यसअघि, धनगढी ब्लुजको प्रशिक्षक रहेका मनोज यो सिजन चितवन राइनोजमा अनुबन्ध भएका छन ।

अघिल्लो सिजन धनगढी ब्लुजको प्रशिक्षक हुँदा शिर्ष चारको नजिक पुगेपनि रनरेटमा पछि परेको धनगढी ब्लुजको प्रशिक्षकमा कलाम अली आएका छन । मनोज कटुवाल चितवनमा अनुबन्ध भएपछि उनको स्थानमा धनगढी ब्लुजले यू–१९ महिला क्रिकेट टिमका प्रशिक्षक अलीलाई अनुबन्ध गरेको हो । यस्तै, चितवनले सहायक प्रशिक्षकका रुपमा पूर्व खेलाडी लाक्पा लामालाई ल्याएको छ ।

यसका साथै चितवन यसपटक विदेशी खेलाडीका रुपमा यूएईका रोहन मुस्तफा, हङकङका पूर्व खेलाडी बाबर हायात र सन्नी पटेललाई ल्याएको छ । पटेल अघिल्लो सिजन ‘प्लेयर अफ दि सिरीज’ बनेका थिए । हायातले भने बुटवल ब्लास्टर्सबाट खेलेका थिए ।

पोखरा प्रिमियर लिग मंसिरको २८ गतेबाट सुरु हुँदैछ । जसका तयारी धमाधम भइरहेको छ । टिमहरु भोलीबाट पोखरा आउन शुरु गर्नेछन् ।