‘नीरफूल’ को प्रदर्शन फागुनको अन्तिममा

गत भदौको २७ मै प्रदर्शन हुने भनिएको फिल्म पोस्ट प्रोडक्सनको ढिलाइका कारण फागुनमा सरेको हो

जनसम्मत
पौष २, २०७६, बुधबार

पोखर । फागुनको अन्तिममा नेपाली चलचित्र ‘नीरफूल’को प्रदर्शन मिति तोकिएको छ ।

आउँदो फागुनको ३० गते चलचित्र देशभर प्रदर्शन हुनेछ ।

गत भदौको २७ मै प्रदर्शन हुने भनिएको फिल्म पोस्ट प्रोडक्सनको ढिलाइका कारण फागुनमा सरेको हो ।

भूकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथामा आधारित फिल्म गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको हो । चलचित्रमार्फत धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भुकम्पको बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजिएको छ ।

दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिर्सिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतले चलिचत्रमा अभिनय गरेका छन् ।

निर्देशक फूलमान वल स्वयं र सचिन घिमिरेले फिल्मको पटकथा तयार पारेका हुन् । चलिचित्रमा सचिनको एशोसिएट निर्देशकको रुपमा समेत भुमिका रहेको छ ।

चलचित्रमा प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन तथा गोविन्द शाही र मनोज राठीको वितरण रहनेछ ।