सातै प्रदेशमा अन्तराष्ट्रियस्तरको रंगशाला : खेलकुदमन्त्री विश्वकर्मा

‘वर्तमान सरकारले ७ सय ५३ वटै स्थानीय निकायमा समेत खेलग्रामको अवधारणा ल्याएको छ’

जनसम्मत
पौष २, २०७६, बुधबार

पोखरा । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा (सुनार) ले सातवटै प्रदेशमा अन्तराष्ट्रियस्तरको रंगशाला बनाउने बताएका छन् ।

उनले वर्तमान सरकारले ७ सय ५३ वटै स्थानीय निकायमा समेत खेलग्रामको अवधारणा ल्याएको उल्लेख गरे ।

पोखरामा शुरु भएको प्याब्सन कास्कीको १६ औं संस्करणको स्पोर्टस् मिटको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले भने, ‘खेल क्षेत्रको समृद्धि नभई मुलुकको समृद्धिको कल्पना गर्न सकिदैंन ।’

‘वर्तमान सरकारले मुलुकको समृद्धिको नारालाई सफल बनाउन ७ वटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंगशालाको निर्माण र ७ सय ५३ वटै स्थानीय निकायमा खेलग्राम स्थापना हुनुपर्ने कुरालाई विशेष महत्वका साथ उठाएको छ ।’

खेलकुदमन्त्री विश्वकर्माले सरकारले बनाएको सोंचलाई मूर्तरुप दिन खेलकुद मन्त्रालय दृढ संकल्पका साथ अगाडी बढेको समेत थपे ।

‘नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकद प्रतियोगिता (साग) सफलतासाथ सम्पन्न भएको छ,’ उनले भने, ‘साग प्राप्त उपलब्धीले समाजले खेलकूद क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । निजी शिक्षण संस्थाहरुले शिक्षासँगै खेल क्षेत्रलाई महत्वका साथ राखेकोमा सिंगो शिक्षा र खेलकुद क्षेत्रले गर्विलो अनुभव गरिरहेको छ ।’

मन्त्री विश्वकर्माले शारिरीक र मानशिक प्रतिभालाई उजागर गर्न खेलकूदको बिकास अपरिहार्य रहेको बताए । मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्तिसँगै खेलाडी उत्पादन गर्न यस्ता कार्यक्रम महत्वपूर्ण रहने मन्त्री विश्वकर्माले उल्लेख गरे ।

‘खेल क्षेत्रमा लागेर केही हुन्न र भविष्य समेत छैन भनेर पछुतो मान्ने दिन समाप्त भएको छ,’ उनले भने, ‘खेल क्षेत्रबाटै इतिहास रच्न सकिन्छ र खेलकुदमा भविष्य छ भन्ने कुरा स्थापित गर्न मन्त्रालयले आफ्ना कामहरुलाई अघि बढाएको छ ।’

उनले पोखरा रंगशालालाई अन्तर्राष्ट्रियस्तरको रंगशालाको रुपमा स्थापित गर्न स्टेडियमको काम छिट्टै सम्पन्न गरिसक्ने बताए । मन्त्री विश्वकर्माले अव नवौं राष्ट्रिय खेलकुदका लागि स्विमिङ पुललगायत अन्य पूर्वाधार समेतको काम छिट्टै शुरु गरिने बताए । पोखरा रंगशालास्थित क्रिकेट स्टेडियमको समेत चाँडै नै काम थालिने उनले बताए ।

कार्यक्रममा बोल्दै प्याब्सन कास्कीका अध्यक्ष पदमप्रसाद शर्माले विद्यालयनै खेलाडी उत्पादनको मुख्य थलो रहेको स्पष्ट पारे । सागको आधार र गरिमालाई स्थापित गर्न समेत स्पोर्टस् मिट जस्ता कार्यक्रम सहयोगी हुने बताए । उनले नेपालको शिक्षा क्षेत्रमा निजी शिक्षण संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको धारणा राखे ।

कार्यक्रममा प्याब्सन कास्कीका वरिष्ठ उपाध्यक्ष तथा १६ औं प्याब्सन स्पोर्टस् मिटका संयोजक मथुराप्रसाद पौडेल, सचिब विष्णुप्रसाद तिमिल्सना लगायतले बोलेका थिए ।

बालबालिकाको शिक्षामा थप उत्प्रेरणा जगाउन तथा राष्ट्रका लागि खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित प्याब्सन स्पोर्टस्मा ९६ विद्यालयहरुका ५ हजार १ सय विद्यार्थीहरुले विभिन्न खेलकुद इभेन्टहरुमा सहभागिता जनाएका छन् ।