पीपीएलमा पोखराको सुखद सुरुवात

काठमाण्डौं गोल्डेन वारियर्सलाई ९ विकेटले पराजीत गर्दै प्रतियोगितामा पोखराले सुखद सुरुवात गरेको हो

जनसम्मत
पौष २, २०७६, बुधबार

पोखरा । ओपनर कुशल भुर्तेलको अविजित अर्धशतकसँगै पोखरा प्रिमियर लिगमा पोखरा पल्टनले विजयी सुरुवात गरेको छ ।

आइतबार पोखरा रंगशालामा भएको खेलमा काठमाण्डौं गोल्डेन वारियर्सलाई ९ विकेटले पराजीत गर्दै प्रतियोगितामा पोखराले सुखद सुरुवात गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन जोड्यो ।

जवाफमा पोखराले १ विकेट मात्रै गुमाएर ६ ओभर अघि नै लक्ष्य भेट्टायो । ओपनर आरिफ शेखलाई सस्तैमा पेभेलियन फर्काएपनि भुर्तेलको आक्रामक ब्याटिङ सामु काठमाण्डौंको जोर चलेन । ४३ बलको सामना गरेका भुर्तेलले ५ छक्का र ४ चौका हिर्काउँदै नट आउट ६५ रन जोडे ।

शेख १० बल खेरेर १४ रन जोडेपछि एलविडब्लु धरापमा परेपछि मैदान छिरेका ब्याट्सम्यान रविन्द्रर सिंहले ३२ बलमा ३८ रनको योगदान दिए ।

काठमाण्डौंका लागि सुसन भारीले १ विकेट लिनुबाहेक अरु बलर कमजोर सावित भए । काठमाण्डौंको ब्याटिङ पनि खासै चलेन ।

विदेशी खेलाडी सुवोध भाटीले ४५ रन बनाउनुबाहेक अरुले उल्लेख्य रन जोड्न सकेनन् ।

खराब सुरुआत गरेको काठमाडौंका लागि सातौं ब्याट्सम्यानका रूपमा क्रिजमा छिरेका भाटीको उत्कृष्ट ब्याटिङको योगदानमा काठमाण्डौंले १ सय १६ रनको लक्ष्य तय गरेको थियो ।

गौरव तोमारले १३ र सुसन भारीले १० रन बनाउँदा अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

कप्तान ज्ञानेन्द्र मल्लले ५ बलको सामना गरेर मात्रै १ रन बनाए ।

पोखरा पल्टनका लागि कुशल मल्ल, ललित राजबंशी र रसिद खानले २/२ विकेट लिए भने प्रथमेश डेक र सर्वजित लाद्धाले समान १/१ विकेट हात पारे ।

प्रतियोगितामा सर्बाधिक रन जोड्ने भुर्तेल म्यान अफ दि म्याच घोषित भएका छन् ।

६ टीमको सहभागिता रहेको प्र्रतियोगिता १४ दिनसम्म चल्नेछ । प्र

तियोगितामा पोखरा र काठमाण्डौंसँगै बुटवल ब्लास्टर्स, धनगढी ब्लुज, चितवन राईनोज र विराटनगर टाइटन्सबीच प्रतिश्पर्धा चल्नेछ ।

प्रतियोगिताका बिजेताले २७ लाख र उपबिजेताले १० लाख नगद पुरस्कार पाउनेछन् । यसअघिको पहिलो पोखरा प्रिमियर लिगमा पोखराले उपाधी जितेको थियो ।

लिगको उद्घाटनपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ब्यवसायिक खेलकुदले अन्तराष्ट्रिय रुपमा प्रतिश्पर्धा गर्न सक्ने बताए ।

उनले तल्लो तहबाटै खेलकुदलाई बिशेष प्राथमिकता दिनुपर्नेमा उनको जोड छ । ‘तल्ला तहमै एकेडेमी बनाउनुपर्छ । यो काम राज्यले गर्ने हो । सरकारको ध्यान जानुपर्छ,’ उनले भने, ‘प्रकृतिले दिएको बरदानलाई ब्यवहारमा प्रयोग गरौं ।’

उनले पोखरालाई पर्यटनसँगै खेलकुदको राजधानीको रुपमा स्थापित गर्नुपर्ने बताए ।

राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष रमेशकुमार सिलवालले केही बर्षभित्रै अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान पोखरामा निर्माण गर्ने र खेल्नका लागि आमन्त्रण गर्ने बताए ।

सांसद तथा गण्डकी प्रदेशका अर्थ तथा विकास समिति सभापति दीपक कोइरालाले पोखरामा भएका इभेण्टहरुले स्पोर्टस सिटीको रुपमा स्थापित गर्दै लगेको सुनाए ।

उनले खेलकुद खेल्ने कुरासँगै आर्थिक समृद्धीसँग पनि जोडिने भएकोले विश्वका शक्तिशाली राष्ट्रसँग प्रतिश्पर्धा गर्ने गरी खेलाडी उत्पादन र पूर्वाधार निर्माण गर्नुपर्ने बताए ।

क्रिकेटको विकेन्द्रिकरणका लागि सरकारको ध्यानाकर्षण बढाउन पोखरामा लिग आयोजना गरिएको आयोजक क्विन्स इभेण्ट प्रालिका निर्देशक छुम्वी लामा बताउँछन् । शनिबारदेखि हुने भनिएको खेल बर्षाका कारण आइतबारदेखि सुरु भएको हो ।