विद्यालय उमेर समूहका विद्यार्थीहरुलाई पोखरामा मोआ थाई मार्सल आर्टको निःशुल्क प्रशिक्षण

जनसम्मत
चैत्र १९, २०७५, मंगलवार

पोखरा, १९ चैत । विद्यालय उमेर समूहका विद्यार्थीहरुका लागि पोखरामा मंगलबारदेखि मोआ थाई मार्सल आर्टको प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।

कास्की जिल्ला मोआ थाई संघले विद्यार्थीहरुका लागि उक्त खेलको प्रशिक्षण सञ्चालन गर्न लागेको हो । विद्यार्थीहरुको आत्मरक्षा र स्वास्थ्यलाई तन्दुरुस्त राख्न उक्त प्रशिक्षण संचालन गर्न लागेको मोआ थार्ई कास्कीका मुख्य प्रशिक्षक दिपक गोदारले जानकारी दिए ।

विद्यालयहरुमा शैक्षिक शत्र भर्खरै सकिएको र एसइइ परीक्षा पनि सकिएको अवसर पारेर विदामा बसेका विद्यार्थीहरुलाई लक्षित गरेर प्रशिक्षण संचालन गर्न लागेको गोदारले बताए ।

कास्कीमा २०६६ सालमा मोआ थाई खेल शुरु भएको हो । अहिले पोखरा रंगशालामा नवनिर्मित बहुउद्देश्यीय कभर्ड हलमा आफ्नै प्रशिक्षण गर्ने हल समेत छ । पोखरामा रहेका ६ जना प्रशिक्षकहरुले उनीहरुलाई उक्त कभर्ड हलमा प्रशिक्षण दिनेछन् ।

वि.सं. २०६२ सालमा नेपाल भित्रिएको मोआ थाई अहिले १६ भन्दा वढी जिल्लामा कृयाशील छ । राष्ट्रिय खेलकुद परिषदमा दर्ता रहेको मोआ थाई खेल थाइल्याण्डबाट शुरुवात भएको हो । करिब १५ जना नयाँ खेलाडीहरु प्रशिक्षणका लागि आएको मुख्य प्रशिक्षक गोदारले जानकारी दिए ।

गोदारका अनुसार १८ वटा विद्यालयहरुलाई पत्राचार गरिसकेको छ । प्रशिक्षणका लागि पत्र नपुगेकाहरुलाई पनि प्रशिक्षणमा आउन गोदारले आग्रह गरेका छन् । मार्शल आर्टको एक प्रमुख आर्कषक खेल मोआ थाई सन् २०२४ मा फ्रान्समा हुने ओलम्पिकमा नेपालको पनि सहभागिता रहनेछ ।
मुख्य प्रशिक्षक गोदारले प्रशिक्षणबाट खेलाडी उत्पादन गर्ने लक्ष रहेको बताए । प्रशिक्षण निःशुल्क प्रदान गरिने गोदारले बताए ।

मोआ थाई मार्शल आर्टको खेल मात्रै होइन यो आत्म शुरक्षाका लागि उत्तिकै महत्वपूर्ण रहेको मुख्य प्रशिक्षक गोदारले बताए ।

अहिलेसम्म मोआ थाई खेलले अन्तर्रािष्ट्रय ऐरिनामा सहभागिता जनाएका नेपाली खेलाडीहरु रित्तो हात फर्कनु नपरेको गोदारले बताए । गोदारका अनुसार नेपालले सन २०१७ मा कोरियामा सम्पन्न १६ वर्षको मुनिको खेलमा रजत पदक हात पारेको छ भने सन २०१९ मा मकाउमा सम्पन्न ओपनतर्फ काश्य पदक हात पारेको छ ।