एउटै खेलमा ‘साम्बा’ एक्लैको ३ ह्याट्रिक

काठमाण्डौंमा जारी प्रधान सेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबलमा विभागीय सशस्त्र प्रहरी बलको एपीएफले १८ गोल गर्दा ‘साम्बा’ एक्लैले आफ्नो नाममा ९ गोल दर्ता गरेकी छन्

जनसम्मत
पौष २, २०७६, बुधबार

पोखरा । सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले राजधानी काठमाण्डौंमा जारी प्रधान सेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबलको एउटै खेलमा ३ ह्याट्रिय गर्न सफल भएकी छन् ।

भारतको सिक्किमविरुद्ध सोमबार भएको खेलमा विभागीय सशस्त्र प्रहरी बलको एपीएफले १८ गोल गर्दा ‘साम्बा’ एक्लैले आफ्नो नाममा ९ गोल दर्ता गरेकी छन् ।

लगनखेलस्थित आर्मीको मैदानमा भएको खेलमा सिक्किममाथि एपीएफकी अनु लामाले ४, अनिता बस्नेतले ३ तथा रेनुका नगरकोटीले २ गोल गरिन् । पहिलो हाफमा १० गोलले अग्रता लिएको एपीएफले दोस्रो हाफमा थप ८ गोल गरेको थियो ।

प्रतियोगिताअन्तर्गत सोमबार नै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले प्रदेश नं–२ लाई ३–० गोलले हरायो । पुलिस क्लबका लागि निशा विक, निरु थापा र दीपा न्यौपानेले समान १/१ गोल गरे । मंगलबार प्रदेश नं–५ र भुटानको राष्ट्रिय टोलीबीच खेल हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)सँगको सहकार्यमा आइतबारदेखि शुरु भएको प्रतियोगिताको सातौँ संस्करणमा ३ विभागीय, २ विदेशी तथा तीनवटा प्रदेशको फुटबल टोलीले प्रतिस्पर्धा गरेका छन् ।

प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं–५ तथा भारतको सिक्किम र भुटानको राष्ट्रिय फुटबल टोलीको सहभागिता छ । प्रतियोगिता आगामी पुस ९ गतेसम्म चल्नेछ ।