पीपीएलमा धनगढी ब्लुजको ५ रनको रोमाञ्चक जित

कप्तान ऐरीको उत्कृष्ठ बलिङ, ऐरीले ४ ओभरमा १ मेडन राख्दै १९ रन खर्चिएर ३ विकेट लिए

जनसम्मत
पौष २, २०७६, बुधबार

पोखरा । दिपेन्द्रसिंह ऐरीले उत्कृष्ठ बलिङ गरेपछि नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल)को दोस्रो संस्करणको दोस्रो दिनको पहिलो खेलमा एक्सपर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ५ रनले पराजित गर्दै २ अंक जोडेको छ ।

क्वीन्स इभेण्ट म्यानेजेमन्ट प्रालिको आयोजनामा सोमबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा टस हारेर व्याटिङमा उत्रिएको धनगढीले निधारित २० ओभरमा १ सय १७ रन बनाउँदै विराटनगरलाई लक्ष्यको चुनौति दिएको थियो ।

सहाब आलमको बलमै गोल्डेन डक भएका ऐरीले बलिङमा भने उत्कृष्ठ प्रदर्शन गर्दै धनगढी ब्लुजलाई जितको हकदार बनाए । ऐरीले ४ ओभरमा १ मेडन राख्दै १९ रन खर्चिएर ३ विकेट लिएका थिए ।

आर ए थोमसले १३ बल खेल्दै धनगढीको लागि २ छक्का हान्दै १६ रन बनाउँदै सुखद शुरुवात संकेत गरे । यद्यपी, नोमान खानको बलमा मोहम्मद जैद आलमको हातबाट क्याच भएपछि धनगढीले दोस्रो विकेट गुमायो ।

पहिलो विकेटको रुपमा धनगढीले एस सुनारलाई गुमाएको थियो । तेस्रो विकेटको रुपमा आएका विदेशी खेलाडी एसए विजरान्थेलाई २५ रनमा गुमाएपछि धनगढीको इनिङ सम्हाल्न कप्तान ऐरी क्रिजमा आए ।

यद्यपी, उनी पहिलो बलमै आउट भएपछि धनगढी दबावमा रह्यो । कमलसिंह ऐरीले नटआउट २६ रन बनाए । जुन धनगढीका लागि सर्वाधिक रन थियो । २१ बल खेल्ने क्रममा २ चौका र २ छक्का हिर्काए ।

साहब आलमले ४ ओभरमा ३० रन खर्चिएर ३ विकेट लिए । नोमान खानले पनि २ विकेट आफनो नाममा राखे । विराटनगरले ११८ रनको लक्ष्य पछ्याउने क्रममा ९ विकेटको क्षतिमा ११२ रनमै समेटियो । मोहम्मद जैद आलम र दिलिपनाथलाई विराटनगरले शून्य रनमै पेभेलियन फर्किएको देखेपछि तनाव हुन पुग्यो ।

आलमलाई किशोरसिंह ऐरीले आउट गर्दा नाथ भने दिपेन्द्र सिंह ऐरीले रन आउट गरेका थिए । कप्तान प्रदीपसिंह ऐरीले २९ बल खेल्दै दोहोरो अंकको रन बनाउने क्रममा १० रनमै आउट भए ।

एकपछि अर्को गरी सस्तैमा आउट भएपछि दबावमा रहेको विराटनगरले सुनिल धमला १८, राजु रिजालले २५, पुनित मेहराले १५ रन बनाए । १६ रन अतिरिक्त थपियो । जितको नजिक पुगेपनि अन्तत ५ रनको हार व्यहो¥यो । धनगढी ब्लुजका कप्तन दिपेन्द्रसिंह ऐरी ‘म्यान अफ दि म्याच’ घोषित भए ।