घरेलु पोखरा पल्टनमाथि चितवन राइनोजको सहज जित

मंगलबार भएको खेलमा चितवनले पोखरालाई ६ विकेटले पराजित गरेको हो

जनसम्मत
पौष २, २०७६, बुधबार

पोखरा । बिदेशी खेलाडी बाबर हायातको अविजित अर्धशतकसँगै चितवन राइनोजले पोखरा पल्टनमाथि सहज जित निकालेको छ ।

पोखरा प्रिमियर लिग अन्तर्गत मंगलबार भएको खेलमा चितवनले पोखरालाई ६ विकेटले पराजित गरेको हो ।

पोखराले दिएको १ सय ८ रनको लक्ष्य चितवनले १४.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । चितवनका लागि हायातले सर्वाधिक ६६ रन जोडे । उनको रन जारी प्रतियोगितामै सबैभन्दा धेरै हो । यसअघि, उद्घाटन खेलमा पोखराका कुशल भुर्तेलले काठमाडौं गोल्डेन वारियर्सविरुद्ध ६५ रन जोडेका थिए । ३४ बलको सामना गरेका हायातले ४ छक्का र ६ चौका प्रहार गरे ।

ओपनर अनिलकुमार शाह शून्य रनमै पेभेलियन फर्किएपछि चितवन केही दवावमा परेको थियो । अर्का ओपनर रोहन मुस्ताफा पनि ११ रन मात्रै बनाएर आउट भए । त्यसपछि, आएका कप्तान पारस खड्काले ४ रन मात्रै जोडे । आरिफ शेख १ रन बनाएर बाहिरिँदा बाबर र शनी पटेलले पारी सम्हाले । १८ बलमा १ चौका र २ छक्का सहित शनीले अविजित २२ रन बनाए । पोखराका रसिद खान र सर्वोजित लालले समान २र२ विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निधारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ७ रन बनायो । कप्तान शदर भेसावकरले सर्वाधिक ४५ रनको योगदान गरे । ३९ बल सामना गरेका शरदले ३ चौका र ३ छक्का प्रहार गरेका थिए । कुशल मल्लले १३, रशिद खान, आशिफ शेख र रबिइन्दर सिंहले समान १०/१० रन बनाए भने अन्यले दोहोरो रन जोड्न सकेनन् ।

विनोद भण्डारीले ७ रनमा आउट हुँदा ललित राजवंशी ३ रनमा अविजित रहे । चितवनका लागि सन्नी पटेल, भुवन कार्की र रोहन मुस्ताफाले २/२ विकेट लिदा करण केसी, बिक्रम शोब र कप्तान पारस खड्काले १/१ विकेट हात पारे ।

काठमाण्डौंले लगातार २ खेल हारेको छ भने धनगढी ब्लुजले एउटा खेल जीतिसकेको छ । पोखराको एकमा हार र एकमा जित छ । विराटनगरपनि एक खेलमा पराजित भैसकेको छ ।