ए डिभिजन लिगमा एनआरटीको विजयी शुरुवात

मंगलबार सरस्वती युथ क्लबलाई ४–० गोल अन्तरले हराउँदै एनआरटीले सुखद सुरुवात गरेको हो

जनसम्मत
पौष २, २०७६, बुधबार

पोखरा । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्यूरोड टिम एनआरटीले विजयी सुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सरस्वती युथ क्लबलाई ४–० गोल अन्तरले हराउँदै एनआरटीले सुखद सुरुवात गरेको हो ।
एनआरटीको जितमा सरोज तामाङले २ गोल गरे । जुनियर ओन्गुएने निकेन्ग्यु र जोर्डन एनडेम्बाले समान १/१ गोल गरे । जितसँगै चालु सिजनमा एनआरटीले स्पष्ट ३ अंक बटुलेको छ ।

एनआरटीले गत सिजनमा ब्यहोरेको हारको बद्ला समेत लिएको छ । गत सिजनमा सरस्वतीले एनआरटीमाथि २–१ ले जित निकालेको थियो । यस सिजनमा सरस्वतीले भने हारबाट लिगको सुरुवात गरेको छ ।

यता, दशरथ रंगशालामा भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लब हिमालयन शेर्पा क्लवसँग बराबरीमा रोकिएको छ । पुलिस शेर्पासँग गोलरहित बराबरीमा रोकिएको हो ।

विभागीय टिम पुलिसले शेर्पाविरुद्ध पहिलो हाफमा खासै राम्रा मुभ बनाउन सकेन । जसका कारण पहिलो हाफमा गोलरहित बराबरी खेल्यो । दोस्रो हाफमा पुलिसले सुधारिएको प्रदर्शन गरेपनि प्राप्त अवसरहरुलाई सदुपयोग गर्न नसक्दा हिमालयनसाग समान १/१ अंक बाँड्यो ।