पीपीएलमा काठमाण्डौंको पहिलो जित, पोखराको दोस्रो हार

काठमाण्डौंले बुधबार धनगढी ब्लूजलाई १ सय ६ रनले, बिराटनगरले ४५ रनको फराकीलो अन्तरमा पोखरालाई पराजय गरेको हो

जनसम्मत
पौष ३, २०७६, बिहीवार

पोखरा । ज्ञानेन्द्रको शतकमा पोखरा प्रिमियर लिग (पीपीएल) मा काठमाण्डौंले सान्त्वना जित निकालेको छ ।

लगातार २ खेलमा पराजित भएको काठमाण्डौं ले बुधबार धनगढी ब्लूजलाई १ सय ६ रनको फराकिलो अन्तरले हराउँदै २ अंक जोडेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डौंले कप्तान ज्ञानेन्द्र मल्लको शतकीय पारीसँगै पहिलो जित दर्ता गरेको हो । ३८ बलको सामना गरेका मल्लले ९ छक्का र ८ चौका हिर्काउँदै १ सय रन जोडे । योसँगै मल्लले सन २०१९ मा मात्रै तेश्रो पटक शतक पूरा गरेका छन् ।

मौसमको खरावीले २० ओभरको खेललाई १७ ओभरमा झारिएको थियो । निर्धारित १७ ओभरमा काठमाण्डौंले ५ विकेट गुमाएर १ सय ८५ रन जोडेको थियो । काठमाण्डौंका जयकिसन कल्सवालले ४६ र अमित श्रेष्ठले ३४ रन जोडे ।

गौरव तोमर र सुवोध भाटी विना रन पेभेलियन फर्किएका थिए । पवन सर्राफ र आदिल खानले पनि कुनै रन जोड्न सकेनन् । धनगढीका कमलसिंह ऐरी एक्लैले ४ विकेट लिए भने सागर ढकालले १ विकेट लिए ।

काठमाण्डौंले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याउन जवाफी ब्याटिङमा उत्रिएको धनगढीले १६ ओभरमा सबै विकेट गुमाएर ७९ रन मात्रै जोड्यो । धनगढीका श्रीमान्था विजेरत्नेले १५ तथा रोड्रिगो थोमसले १० रन बाहेक अन्यले दोहोरो रन बनाउन सकेनन् ।

बलिङतर्फ काठमाण्डौंका बसन्त रेग्मीले ३ विकेट लिए भने पवन सर्राफ र सुबोध भाटीले समान २/२ विकेट लिए । काठमाण्डौंले पोखरा र बुटवलसँग पराजय ब्यहोरेको थियो भने धनगढीले विराटनगरलाई पराजित गरेर एउटा जित निकालिसकेको छ ।

पोखराको दोस्रो हार

यता, विराटनगर टाइटन्सले पोखरा पल्टनलाई लगातार दोश्रो हार चखाएको छ । अघिल्लो खेलमा धनगढीसँग पराजय भोगेको विराटनगरले पोखरासँग त्यसको बदला लिएको हो । पुनित मेहराको उत्कृष्ट ब्याटिङमा बिराटनगरले ४५ रनको फराकीलो अन्तरमा पोखरालाई पराजय गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ४५ रन जोड्यो । मेहराले २६ बलमा ४ छक्का र ५ चौकाको मद्दतले ६१ रन बनाए । सुनिल धमलाले ३६ र मोहम्मद जैद आलमले २६ रनको योगदान गरे । अन्य ब्याट्सम्यान भने सस्तैमा समेटिए । पोखराका कप्तान शरद भेस्वाकरले २ तथा कुशल मल्ल र सर्वजित लड्डाले १/१ विकेट लिए ।

जवाफमा पोखराले २० ओभर खेलेर ८ विकेट गुमाउदै १ सय रनमात्रै जोड्न सक्यो । पोखराका लागि रोहितकुमार पौडेलले सर्वाधिक ३२ रनको योगदान गरे भने कुशल भूर्तेलले २४ रन तथा आशिफ शेखले १३ रन जोडे ।

कप्तान शरद भेस्वाकर र कुशल मल्ल तथा रविइन्दर सिंह शून्य रनमै पेभेलियन फर्किए । अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन । विराटनगरका लागि किशोर महतो, जितेन्द्र मुखिया र मुहम्मद जहिद आलमले समान २/२ विकेट लिँदा साहब आलम, पुनित मेहरा र नोमन खानको नाममा १/१ विकेट रह्यो ।

पोखरा प्रिमियर लिग अन्तर्गत विहिबार बुटवल ब्लास्टर्स र चितवन राइनोजबीच खेल हुनेछ । हालसम्म सबैभन्दा धेरै खेल खेलका पोखरा र काठमाण्डौंको २ मा हार र १ मा जित निकाल्दै समान २÷२ अंक जोडेका छन् ।

लिग अन्तर्गत २ खेल खेलेका धनगढी र विराटनगरले पनि १ मा जित र १ मा हारको नतिजा निकालेर समान २/२ अंक नै जोडेका छन् । १/१ खेल खेलेका बुटवल ब्लास्टर्स र चितवन राइनोजले समान २/२ अंक आफ्नो खातामा जोडिसकेका छन् ।

 

तस्वीर : आयुष गौतम