पीपीएलमा चितवन राइनोजको लगातार दोस्रो जित

बुटवल ब्लास्टर्सलाई ११९ रनको विशाल रन अन्तरले चितवन राइनोजले सहज जित हात पारेको हो

जनसम्मत
पौष ६, २०७६, आइतबार

पोखरा । पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार भएको खेलमा चितवन राइनोजले दोस्रो जित हात पारेको छ ।

बुटवल ब्लास्टर्सलाई ११९ रनको विशाल रन अन्तरले चितवन राइनोजले सहज जित हात पारेको हो ।

चितवन राइनोजले पहिले ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा २ सय ३ रन जोड्न सफल भएको थियो । चितवनले प्रस्तुत गरेको २०४ रनको लक्ष्य पाएको बुटवल ब्लास्टर्सले कमजोर खेल प्रदर्शन गर्दै सबै विकेटको क्षतिमा ८४ रन मात्र जोडेको थियो । खेलअघि बुटवलले टस जितेर फिल्डिङ रोजेको थियो ।

चितवन राइनोजका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै क्याप्टेन पारस खड्का र रोहन मुस्तफाले अर्धसतक रन पूरा गरेका थिए । खड्काले चितवनका लागि ६३ रन जोडे भने मुस्तफाले खेलको सर्वाधिक ६८ रन जोड्न सफल भएका थिए । बुटवल ब्लास्टर्सको फिल्डिङ निकै कमजोर थियो ।

खेलपछि संचारकर्मीसँग प्रतिक्रिया दिदै चितवन राइनोजका क्याप्टेन पारस खड्काले भने, ‘खेलको अन्तिममा नतिजालाई राम्रोसँग पकड्न सकेका छौ । यसरी नै आगामी दिनमा उत्कृट प्रदर्शन हामी दिनेछौं ।’

त्यस्तै, धेरै रनको लक्ष्यले गर्दा शुरुमै खराब प्रदर्शन भएको बुटवल ब्लास्टर्सका क्याप्टेन सोमपाल कामी बताउँछन् । टिमकै प्रदर्शन कमजोर देखिएको उनी स्वीकार्छन् ।

‘म्यान अफ दि म्याच’ बनेका चितवन राइनोजका रोहन मुस्तफाले दर्शकको सपोर्टले आफूहरुलाई हौसला बढेको बताए । पोखरामा खेल्न पाएकोमा खुशी लागेको बताउँदै मुस्तफाले म्यान अफ दि म्याचको पुरस्कारले थप उर्जा मिलेको बताए ।