पीपीएलमा चितवनको लगातार तेस्रो जित

चितवनले पीपीएल दोश्रो संस्करणमा आफ्ना तीनवटै खेलमा जित हात पारेको हो

जनसम्मत
पौष ६, २०७६, आइतबार

पोखरा । पीपीएल टी–२० मा शुक्रबार सम्पन्न खेलमा चितवनले एक्सपर्ट धनगढीलाई ५२ रनले जित दर्ता गरेको छ ।

आरिफ शेखले २० बलमा ४ छक्का र २ चौकाको सहयोगले नट आउट रहँदै ४७ रनको पारी खेलेपछि चितवनले धनगढीलाई १८२ रनको सम्माजनक लक्ष्य प्रस्तुत गरेको थियो ।

तर, धनगढीले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १२९ रन बनाएपछि चितवनले पीपीएल दोश्रो संस्करणमा आफ्ना तीनवटै खेलमा जित हात पारेको हो ।

चितवनका लागि बाबर हायातले २८ बलमा ३६ रनको योगदान दिए । पारसले १५ बलमा २३ रन जोडे । सन्नी पटेलले १७ बलमा ३२ रन नट आउट रहे । धनगढीका लागि दिपेन्द्रसिंह ऐरीले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । अनिल खरेलले ४ ओभरमा १८ रन दिएर २ विकेट लिए । कमलसिंह ऐरीले ४ ओभरमा ५२ रनको योगदान गरे । सागर ढकालले ४ ओभरमा ४१ रन दिए । उनीहरुले कुनै विकेट निकाल्न सकेनन् ।
यता धनगढीको पारीमा दिपेन्द्रसिंह ऐरीले ४२ बलमा ४ चौका र २ छक्काको सहयोगले ४९ रन बनाउनु बाहेक अन्य खेलाडीहरु कृजमा जम्न सकेनन् । रोड्रिगो थोमसले २० बलमा २४ रन जोडे । सन्दिप जोराले २१ रन मात्रै बनाए ।

चितवनका लागि भुवन कार्कीले आफ्नो पूरै स्पेलमा २३ रन खर्चिएर ३ विकेट लिए । करन केसीले २ लिए । सन्नी पटेलले २ बिकेट हात पारे ।