काठमाडौं म्याराथनमा कान्छीमायाको ह्याट्रिक

पुरुषतर्फ विभागीय आर्मीबाट नयाँ च्याम्पियनको उदय

जनसम्मत
पौष ६, २०७६, आइतबार

पोखरा । काठमाण्डौं म्याराथनमा महिलातर्फ विभागीय सशस्त्र प्रहरी बल एपीएफकी कान्छीमाया कोजुले ह्याट्रिक गर्न सफल भएकी छिन् ।

काठमाडौंमा भएको १३ औं संस्करणको काठमाडौं म्याराथनमा निर्धारित दूरी २ घण्टा ५७ मिनेट २७ सेकेन्डमा छिचोल्दै कान्छीले उपाधिमाथि ह्याट्रिकको सफलता हात पारेकी छिन् ।

यसअघि, कान्छीले लगातार दुई संस्करणको उपाधि जितेकी थिइन् । काठमाडौं म्याराथनमा भने समग्रमा उनको यो पाँचौ उपाधि हो । दोस्रो स्थानमा रहेकी आर्मीकी सरिता वासीले ३ घण्टा १९ मिनेट ७ सेकेन्डमा दूरी पार गरेकी थिइन् ।

 

निर्जला ताम्राकारले ३ घण्टा ४५ मिनेट ४७ सेकेन्डमा दूरी छिचोल्दै तेस्रो स्थानमा रहन सफल भइन् । कान्छीले ५० हजार, सरिताले २० हजार र निर्जलाले १५ हजार नगद पुरस्कार हात पारे ।

यस्तै, पुरुषतर्फको काठमाडौं म्याराथनमा नयाँ च्याम्पियन उदाएको छ । पुरुषतर्फ नेपाली सेनाका धावकहरुले वर्चश्व जमाएका छन् । त्रिभुवन आर्मीबाट नयाँ च्याम्पियनका रुपमा २३ बर्षीय धावक नरेन्द्रसिंह रावल उदाएका हुन् ।

नेपाली सेनाको त्रिभुवन क्लबका धावक रावतले ४२ किलोमिटर दौडको दूरीलाई २ घण्टा ३३ मिनेट २३ सेकेण्डमा पूरा गरे ।

त्रिभुवन क्लबकै बेदबहादुर सुनुवारले २ घण्टा ३४ मिनेट २० सेकेण्डमा निधारित दूरी पूरा गर्दै दोस्रो भए । तेस्रो स्थानमा रहेका ज्ञानप्रसाद भट्टराईले २ घण्टा ३४ मिनेट ४५ सेकेण्डमा दूरी छिचोले ।

पुरुष म्याराथनतर्फको विजेता नरेन्द्रले ५० हजार रुपैयाँ हात पारे । दोस्रो भएका बेदबहादुर सुनारले २० हजार र तेस्रो भएको ज्ञानप्रसाद भट्टराइले १५ हजार नगद पुरस्कार पाए ।

पुरुषतर्फको हाफ म्याराथनमा स्पर्धामा त्रिभूवन क्लबका राजन रोक्का र महिलातर्फको स्पर्धामा पूर्णलक्ष्मी न्यौपाने स्वर्ण पदक हात पार्न सफल भए ।

राजनले निर्धारित दूरी १ घण्टा १० मिनेट २६ सेकेण्डमा पूरा गर्दा त्रिभूवन क्लबकै हरि रिमालले १ घण्टा ११ मिनेट १३ सेकेण्डमा पूरा गरी दोस्रो भए । त्रिभूवन क्लबकै रामजी बस्नेत १ घण्टा १२ मिनेट २१ सेकेण्डमा निर्धारित दूरी पूरा गरी तेस्रो स्थानमा रहे ।

यसैगरी, महिलातर्फ पूर्णलक्ष्मीले १ घण्टा २८ मिनेट ०३ सेकेण्डमा निधारित दूरी छिचोलेर उपाधि जितिन् । सानुमाया कार्कीले १ घण्टा ३० मिनेट १ सेकेण्डमा दूरी पार गर्दै दोस्रो स्थानमा रहिन् । नेपाल पुलिसकी रेखा विष्ट १ घण्टा ३१ मिनेट ३४ सेकेण्डमा दूरी पार गर्दै तेस्रो बनिन् ।

प्रतियोगिताको ५ किलोमिटरतर्फ पुरुषतर्फ अजितकुमार यादवले निधारित दूरी १७ मिनेट १९ दशमलव ९१ सेकेण्डमा पार गर्दै प्रथम भए । गजेन्द्र राईले १७ मिनेट ३० दशमलव ६३ सेकेण्डमा दूरी छिचोल्दै दोस्रो बने । शिवबहादुर रायमाझीले १७ मिनेट ५३ दशमलव २२ सेकेण्डमा दूरी पार गर्दै तेस्रो बने ।

महिलातर्फको ५ किलोमिटर दौडमा नेपाली सेनाको त्रिभूवन क्लबकी सरस्वती भट्टराई प्रथम बनिन् । सरस्वतीले निर्धारित दूरी २२ मिनेट ३ दशमलव ४१ सेकेण्डमा पार गरेकी थिइन् । नेपाल पुलिसकी विर्सना कुमालले २३ मिनेट ९ दशमलव ३१ दोस्रो बनिन् । काजल बिष्टले निर्धारित दूरी २३ मिनेट ३१ सेकेन्ड दूरी पूरा गर्दै तेस्रो बनिन् ।