पीपीएलमा काठमाडौंको दोस्रो जित

जनसम्मत
पौष ६, २०७६, आइतबार

पोखरा ।  काठमाडौं गोल्डेन वारियर्सले पोखरा प्रिमियर लिग (पीपीपएल) टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित दर्ता गर्दै प्ले अफ सम्भावना जिवित राखेको छ।

लिग चरणमा कुल ५ मध्ये ४ खेल खेलेको काठमाडौले शनिबार विराटनगर टाइटन्सलाई ३६ रनले पराजित गर्दै दोस्रो जित हात पारेको हो। चितवन राइनोज हालसम्म सबै ३ खेल जित्दै ६ सहित अंकतालिकामा उच्च स्थानमा छ भने काठमाडौ ४ अंकसहित दोस्रो स्थानमा र बुटवल ब्लाष्टर ४ अंकसहित रनरेट आधारमा तेस्रोमा छ।

विराटनगर, पोखरा पल्टन र एक्सपर्ट धनगढी समान २ अंकसहित क्रमशः चौथो, पाँचौ र छैटौं स्थानमा छन्। साविक विजेता पोखरा र काठमाडौंले सर्वाधिक ४ खेल खेलिसक्दा अन्यले ३ खेलमा एकअर्काबीच प्रतिष्पर्धा गरेका छन्।

जयकिसन कोल्सावालको अर्धशतक प्रहारसँगै काठमाडौंले शनिबार विराटनगरमाथि शानदार जित हात पार्न सफल भएको हो। टस जितेर ब्याटिङ थालेको ज्ञानेन्द्र मल्लकप्तानीको काठमाडौंले पूरै २० ओभरमा ५ विकेट गुमाउँदै १५९ रन जोडेको थियो।

१६० रनको लक्ष्यसहित मैदान उत्रिएको प्रदीपसिंह ऐरी कप्तानीको विराटनगर १९.४ ओभरमा मात्र १२३ रनमा समेटिएर अलआउट भयो। म्यान अफ दी म्याच घोषित काठमाडौंका कोल्सावालले ४३ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै काठमाडौंको इनिङ उकासेका थिए।

विराटनगरका लागि पूनीत मेहरा ३१ बलमा समान ३ चौका र छक्का हान्दै अर्धशतक बनाए पनि हार टार्न सकेनन्। कुल ५३ रन जोडेका उनी सुबोध भाटीको बलमा एलबीडब्लु आउट भए। ओपनर मोहम्मद जैद आलम र सुनिल धमलाले मात्र १–१ रन जोडेर पेभेलियन फर्किए।

यस्तै, प्रदीप ऐरीले २९र नोमन खानले २५ रन जोड्दा अन्य ब्याट्सम्यानको प्रदर्शन गतिलो रहेन। आलम र धमला सहित राजु रिजाल, राजेश मगर, जितेन्द्र मुखिया, किशोर महतोले दोहोरो अंकको आँकडा बनाउन समेत सकेनन्। आलम सुवोध भाटीद्वारा दोस्रो ओभरको चौथो बलमा कप्तान ज्ञानेन्द्र मल्लद्वारा क्याचआउट भए भने कप्तान ऐरीलाई भने सुसन भारीले एलबीडब्लु आउट गराएका हुन्।

विराटनगरलाई सस्तैमा समेट्न काठमाडौंका लागि सुबोध भाटीले ३ विकेट लिए। त्यस्तै, अमर रौटेला र वसन्त रेग्मीले समान २ तथा अमृत भट्टराई र सुसन भारीले समान १ विकेट लिए।

त्यसअघि, काठमाडौंका लागि जयकिसनले अर्धशतक प्रहार गर्दा कप्तान मल्ल अर्धशतक नजिक पुगेका थिए। मल्लले ३३ बल सामना गरेकोमा ३ चौका र २ छक्का सहित ४५ रनको योगदान दिएका थिए। जयकिसन १५.२ ओभरमा र मल्ल १७.५ ओभरमा आउट भएका हुन्।

त्यस्तै, अमृत श्रेष्ठले १७, सुवोध भाटीले १४, अदिल खानले १३, नटआउट खेलेका पवन सराफले २० ओभर समाप्तिसम्म ५ रन जोडेका हुन्। ओपनर गौरव तमोर खाता नखोल्दै आउट भएका थिए।

विराटनगरतर्फबाट पूनीत मेहराले २, किशोर महतो, जितेन्द्र मुखिया, नोमन खानले समान १–१ विकेट झारेका थिए।