ए डिभिजन लिगमा जावलाखेलको पहिलो जित

संकटा क्लवले पनि पहिलो जित निकालेको छ

जनसम्मत
पौष ६, २०७६, आइतबार

पोखरा । जावलाखेल युथ क्लबले जारी ए डिभिजन लिगमा पहिलो विजय हात पारेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फाको एन्फा कम्प्लेक्स मैदानमा शनिबार भएको खेलमा जावलाखेलले सरस्वती युवा क्लबलाई संघर्षपूर्ण खेलमा १–० पराजित गर्दै क्लबको लागि पहिलो जित निकालेको हो ।

खेलको दशौं मिनेटमा ड्याडी जुनियर बाम्बाले गरेको एक मात्र गोलनै जावलाखेलको जितका लागि निर्णायक बन्यो । सहकर्मी फोडे फोफानाले दिएको क्रस बललाई ड्याडीले सदुपयोग गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए । बाम्बाको उक्त गोल नै जावलाखेलका लागि जितको आधार बन्यो । खेलको ६५ औं मिनेटमा कृष्ण रानाभाटको आकर्षक प्रहार गोलपोष्ट नजिकबाट बाहिरिदाँ सरस्वतीले खेललाई बराबरी गर्ने राम्रो मौका चुकायो ।

यस जितले पहिलो खेलमा थ्री स्टारलाई बराबरीमा रोकेको जावलाखेल लिगको गर्विलो स्थानमा उभ्याएको छ । जावलाखेल शीर्षस्थानमा रहेको च्यासलसँग अंक बराबरी गर्न सफल भएको छ ।
जावलाखेल र च्यासलको समान ४–४ अंक हुँदा अंकविहीन सरस्वती भने लगातार दोस्रो हारसँगै अंक तालिकाको पुछारमा रहेको छ ।

संकटाको पनि पहिलो जित

सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लवले पनि पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा संकटाले न्युरोड टिम एनआरटीलाई १–० ले हरायो ।

दशरथ रंगशालामा भएको खेलमा संकटाको जितमा एकमात्र गोल दिपेश आलेमगरले गरे । पहिलो खेलमा च्यासलसँग पराजित भएको संकटाले खेलको नवौं मिनेटमा अग्रता बनायो । उसका दिपेश आलले गोल गर्दै संकटालार्ई अग्रता दिलाए ।

पहिलो हाफमा एक गोलले पछि परेको एनआरटीले दोस्रो हाफमा ६५ देखि ७५ मिनेटको विचमा तीन वटा मौका गुमायो । संकटाले पनि ८१ औं मिनेटमा पाएको मौकाको सदुपयोग गर्न सकेन । यस जितपछि संकटाले तालिकामा ३ अंक जोडेको छ ।

एनआरटीको दुई खेलमा पहिलो हार ब्यहोरेको छ । पहिलो खेलमा एनआरटीले सरस्वतीलाई हराएको थियो ।