ए डिभिजन लिगमा हिमालयन शेपा र एपीएफको बराबरी

आइतबार भएको एकमात्र खेलमा हिमालयन शेर्पा र विभागीय टोली नेपाल एपीएफ क्लबले १–१ को बराबरी खेलेका हुन्

जनसम्मत
पौष ६, २०७६, आइतबार

पोखरा । हिमालयन शेर्पाले काठमाण्डौं जारी सहिद स्मारक ए डिभिजन लिगको आफ्नो दोस्रो खेलमा पनि बराबरी खेलेको छ ।

लिगमा आइतबार भएको एकमात्र खेलमा हिमालयन शेर्पा र विभागीय टोली नेपाल एपीएफ क्लबले १–१ को बराबरी खेलेका हुन् ।

एपीएफले लिगमा पहिलो अंक जोड्दा शेर्पाको २ अंक पुगेको छ । एपीएफ पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लबसँग २–० ले पराजित भएको थियो । शेर्पाले पहिलो खेलमा अर्को विभागीय टोली आर्मीसँग गोलरहित बराबरी खेलेको थियो ।

दशरथ रंगशालामा भएको खेलमा दुवै गोल दोस्रो हाफमा संभव भएको थियो । दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमा त्रिदेव गुरुङको गोलबाट शेर्पाले अग्रता लिएको थियो । तर, त्यो अग्रता लामो समय टिकेन ।

खेलको ५८ औं मिनेटमा एपीएफका प्रविण स्याङ्तानले बराबरी गोल फर्काए । आशिष लामाले रक्षक आशिष गुरुङलाई छलाउँदै दिएको क्रसमा प्रविणले क्लोज रेन्जबाट गोल गरेका थिए ।

सातौं मिनेटमा नै एपीएफले गोल गर्ने असवर गुमायो । प्रविणले गरेको प्रहारलाई शेर्पाका गोलकिपर किशोर गिरीले रोके । लगत्तै अर्को प्रहार पनि किशोरले विफल तुल्याए । १४ औं मिनेटमा शेर्पाले गोल गर्ने मौका पाएपनि सफल हुन सकेन ।

स्टेफेनको प्रहार पोष्टमाथिबाट बाहिरिएको थियो । ३७ औं मिनेटमा अलरिच सिवेको प्रहारले पोष्टको दिशा लिन सकेन । पहिलो हाफका लागि एक मिनेट बाँकी रहँदा एपीएफका सुदीप सिख्राकारको फ्री–किक पोष्ट नजिकबाट बाहिरियो । ८१ औं मिनेटमा एपीएफले अग्रता लिने मौका खेल फाल्यो । प्रदीप लामाको पासमा क्लोज रेन्जबाट प्रविणको प्रहार आकासिएयो ।