विभागीय आर्मीलाई हराउँदै ए डिभिजन लिगमा मनाङको दोस्रो जित

ए डिभिजन लिगमै पुलिस निराश बन्दा थ्री स्टारले पहिलो जित निकालेको छ

जनसम्मत
पौष ७, २०७६, सोमबार

पोखरा । अन्तिम समयको गोलको सहयोगमा मनाङ मस्र्याङ्दी क्लबले जारी सहिद स्मारका ए डिभिजन लिगमा लगातार दोस्रो जित दर्ता गर्न सफल भएको छ ।

खेलको अन्तिम समयमा दयानन्द सिंहको गोलको सहयोगमा मनाङ मस्र्याङ्दी क्लबले विभागीय नेपाल आर्मीको त्रिभूवन क्लबमाथि १–० संघर्षपूर्ण अन्तरमा जित निकाल्यो ।

दशरथ रंगशालामा भएको खेलमा निधारित समयको खेल गोलरहित बराबरी भएपछि ५ मिनेट इन्जुरी समय थपिदा तेस्रो मिनेटमा दयानन्दले गोल गर्दै आर्मीलाई अंक बटुल्नबाट रोक्यो ।

खेलमा दुबै टोलीले यसअघि पाएको राम्रो अवसर गुमाउँदा खेल १–० मा टुंगियो । यसअघि, त्रिभूवन क्लबले फ्रेन्ड्स क्लबलाई २–१ ले र मनाङले एपीएफलाई २–० ले पराजित गर्दै लिगको आरम्भलाई सुखद बनाएको थियो ।

 

थ्री स्टारको पहिलो जित

 

यता, सहिद स्मारक ए डिभिजन लिगमै पुलिस निराश बन्दा थ्री स्टारले पहिलो जित निकालेको छ ।

संघर्षपूर्ण खेलमा नेपाल पुलिस क्लबलाई १–० ले अन्तरले हराउँदै थ्री स्टारले दोस्रो खेल खेल्दै पहिलो जित हात पारेको हो । संघर्षपूर्ण खेलमा दुबै टोलीले गोल गर्न नसक्दा अन्तिम समयको ६ मिनेटमा थ्री स्टारले प्रष्ट रुपमा ३ अंक बटुल्न सफल भएको छ ।

शुशील राईले सुसान राईको क्रस पासको सदुपयोग गर्दै गोल गरेपछि थ्री स्टारले जित बटुल्दा पुलिस निराश हुन पुग्यो । सहिद स्मारक लिगको पूर्व विजेता यी दुई टोली थ्री स्टार र पुलिसले आफ्नो पहिलो खेलमा गोलरहित बराबरीमा खेल्दै अंक बाँडेका थिए । पुलिसले हिमालयन शेर्पासँग र थ्री स्टारले जाउलाखेलसँग गोलरहित बराबरी खेलेको थियो ।